सेलिब्रेटी पत्रकार ऋषि धमलाले निर्माण गरेको पहिलो चलचित्र ‘अनुराग’ असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ । यस चलचित्रबाट उनकी श्रीमती एलिजा गौतम (धमला) ले डेब्यु गरेकी छन् ।
पत्रकार धमलाले श्रीमतीको सपना पूरा गर्न चलचित्र निर्माणमा होमिएको बताए । सोमवार पुतलिसडकको एक रेस्टुराँमा श्रीमतीसँग भेटिएका उनले भने, ‘एलिजासँग मेरो विवाह नभएको भए चलचित्र निर्माण गर्दिन थिएँ । उनमा अभिनय गर्ने क्षमता देखेर लगानी गर्न तयार भएको हुँ ।’
उनले चलचित्र ‘अनुराग’ ले दर्शकलाई निराश नबनाउने दाबी गरे । स्क्रिप्ट चित्त बुझेपछि चलचित्र निर्माण गर्न आफूले स्विकृति दिएको उनी बताउँछन् ।
‘विवाहपछि चलचित्रमा आउने अभिनेत्रीहरु निकै कम छन्’ पत्रकारको प्रश्नको जवाफ दिँदै उनी भन्छन्, ‘एलिजा त दुई सन्तानकी समेत आमा हुन् । आमा भएर पनि चलचित्रमा सक्रिय हुने अठोट लिएपछि मैले उनलाई साथ नदिने त कुरै हुँदैन ।’
निर्माता धमलाले ‘अनुराग’ सफल भए चलचित्र निर्माणमा सक्रिय रहने बताए । नव-अभिनेत्री एलिजाले श्रीमानको साथ र सहयोगकै कारण आफूलाई चलचित्रमा आउन आत्मबल मिलेको बताइन् । डेब्यु चलचित्रको नतिजा जस्तो आएपनि आफ्नो चलचित्र यात्रा नरोकिने उनको भनाई छ ।
सानैदेखि चलचित्रमा काम गर्ने रहेर पालेर बसेकी उनको २१ वर्षको उमेरमा पत्रकार धमलासँग विवाह भएको थियो । एलिजाले चलचित्र ‘अनुराग’ मा आफ्नो र ऋषि धमलावीचको प्रेम पनि मिसाएको खुलाइन् । ‘केही प्रतिशत मेरो रियल लाइफका किस्साहरु पनि चलचित्रमा अटाइएको छ’, उनले भनिन् ।
सांगीतिक प्रेमकथामा निर्मित ‘अनुराग’ लाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । उक्त चलचित्रमा एलिजाको जोडी समुन्द्र पण्डितसँग बाँधिएको छ । उनको पनि यो डेब्यु चलचित्र हो ।