गुल्सन ग्रोवर अभिनीत नेपाली चलचित्रको ट्रेलर रिलिज (भिडियो)



पाँच करोड लगानीमा निर्माण भएको चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’ को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा बनेको उक्त पहिलो अंग्रेजी चलचित्रको सुट हलिउड नगरी लस–एन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।

थिम पोतिएको पोस्टरमा चलचित्रका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ ।

निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ चलचित्र रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिन अहिले अमेरिकामा छन् । केही स्टुडियोसँग रिलिजबारे छलफल भैरहेको जानकारी उनले दिए ।

नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उनको कथन छ । भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी चलचित्रको वितरणमा चासो व्यक्त गरेको उनले जनाए ।

पेमा धोन्डुप निर्देशक हुन् । उनी निर्देशित फिल्म ‘वी आर नो मंक्स’ (२००४) ले सुखद समिक्षा प्राप्त गरेको थियो । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए ।

चलचित्रले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’

‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर चलचित्रको कथा बुनिएको हो’ धोन्डुपले भने ।

ट्रेलर हेर्नुहोस् :-

चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu