भोली शुक्रवारबाट वर्षका दुई प्रतिक्षीत चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘प्रेमगीत’ फेम्ड अभिनेता प्रदीप खड्काको ‘रोज’ र अभिनेत्री पूजा शर्माको ‘रामकहानी’ एकसाथ प्रदर्शनमा आउन लागेका हुन् ।
दुवै चलचित्रका वितरकले आफ्नो चलचित्रले देशभरका सबै हलमा कब्जा जमाएको बताएका छन् । ‘रामकहानी’ वितरक सुनिल मानन्धरले देशभरका सय बढी हलमा चलचित्र लाग्ने जानकारी दिए । उता वितरक गोविन्द शाही देशभरका ८० प्रतिशत हल ‘रोज’ को मुठीमा रहेको दाबी गर्छन् ।
वितरकको भनाई अनुसार, देशभर सञ्चालनमा रहेका १८३ वटा हलमा दुवै चलचित्रले बाराबरी ‘सिंगल स्कृन’ मा आफ्नो उपस्थिति जनाउँदैछन् । मल्टिप्लेक्समा भने शोज बाँडफाँडमा ‘रामकहानी’ भन्दा केही अगाडि ‘रोज’ देखिएको छ ।

सर्वाधिक सेयर प्राप्त हुने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘रोज’ लाई एडभान्स बुकिङमा काठमाडौंका आउलेटमा १५ शोज उपलब्ध गराएको छ । ‘रामकहानी’ भने २ शोजले तल छ ।
यस्तै, क्यूज सिनेमाले दुवै फिल्मलाई ३/३ शोज बाँडेको छ । विएसआरमा ‘रोज’ लाई ५ शोज र ‘रामकहानी’ लाई ४ शोज छ । एफक्यूबले दुवै चलचित्रलाई ४/४ शोज उपलब्ध गराउँदा विग मुभिजमा ‘रोज’ ले ६ शोज र ‘रामकहानी’ ले ४ शो पाएको छ ।
१ घण्टा ३० मिनेटको ‘रोज’ र २ घण्टा ४४ मिनेटको ‘रामकहानी’ दुवैले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएका छन् ।
नीरक पौडेल निर्देशित ‘रोज’ मा प्रदीपका अलावा परमिता आरएल राणा, मिरुना मगर र कर्मा शाक्य लिड रोलमा छन् । यो क्राइम/थ्रीलर जनराको चलचित्र हो । यसमा प्रदीप अपराधीको भूमिकामा छन् ।
‘रामकहानी’ लाई लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल साबित गरेका सुदर्शन थापाले निर्देशन गरेका हुन् । पूजासँगै आकाश श्रेष्ठ, केदार धिमिरे, जितु नेपाल लगायतकोे अभिनय छ ।




