गोपीकृष्णले तीन पर्दा दिन तयार भएपनि ‘रामकहानी’ नलाग्ने



दर्शकको सर्वाधिक चाप रहने चाबहिलस्थित गोपीकृष्ण हलमा शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ प्रदर्शन भएको छैन । ३ सय सिट संख्याको नमः हल दिने भएपछि बिहीवार साँझ निर्माताले गोपीकृष्णमा चलचित्र नलगाउने घोषणा गरेका थिए ।

बिहीवार दिउँसोसम्म दुई ठूला पर्दा गोपी र कृष्णमध्ये एक हल दिने सहमती भएपछि चलचित्रको ब्यानर भित्तामा टाँगिएको थियो । तर, साँझ सानो हल मात्र दिने भएपछि वितरक सुनिल मानन्धरले चलचित्र उतारेर फर्किएका थिए ।

गोपीकृष्णमा चलचित्र नलाग्ने खबरले मिडियामा विशेष स्थान पाएसँगै ‘रामकहानी’ टिमले गलत प्रचार गरेको भन्दै गोपीकृष्ण कम्पनीले एक विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गोपीकृष्ण मुभिज प्रा.लि.का कार्यकारी निर्देशक तथा फिल्म ‘रोज’ का निर्देशक निरक पौडेलद्वारा जारी विज्ञप्तीमा ‘रामकहानी’ लाई ओम, नमः र शिवाय गरि ३ ओटा हल उपलब्ध गराउने प्रतिवद्धता भएको उल्लेख छ ।


‘चलचित्रमा दर्शकहरुको चाप बढेको खण्डमा गोपी र कृष्ण हल समेत थपिदिने प्रतिवद्धता पनि जनाईसकिएको छ । ‘रामकहानी’ लाई प्रदर्शन नगर्ने सोच भएको भए चलचित्रको ब्यानर गोपीकृष्ण मुभिजमा लाग्ने नै थिएन’, विज्ञप्तीमा भनिएको छ ।

‘रामकहानी’ टिमलाई आवश्यक परेको खण्डमा गोपीकृष्ण मुभिज सहयोगका लागि सदैव तयार रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गोपीकृष्णले तीन साना पर्दा दिन तयार भएपनि ‘रामकहानी’ टिम चलचित्र नलगाउने निर्णयमा छ ।

वितरक मानन्धरले दुई ठूला पर्दा अर्थात् मल्टिप्लेक्समा रुपान्तरण भएको गोपी र कृष्ण दिएमात्र चलचित्र लगाउने बताए । वितरक मानन्धर र गोपीकृष्ण कम्पनीबीच पर्दा बाँडफाँडलाई लिएर शुक्रवार बिहान पनि छलफल भएको थियो ।

अब गोपीकृष्णमा फिल्म ‘रामकहानी’ शनिवार पनि नलाग्ने लगभग पक्का भएको छ । सो प्रतिष्ठित कम्पनीले ‘रामकहानी’ लाई ठूलो हल नदिनुको कारण आफ्नो ब्यानरको फिल्म ‘रोज’ हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu