‘रोज’ र ‘रामकहानी’ को सुखद व्यापार, हलमा देखियो क्रेज (फोटो र भिडियोसहित)



प्रदर्शनको पहिलो दिन औसत रहेको शुक्रवारबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘रोज’ र ‘रामकहानी’ ले शनिवार सुखद व्यापार गरेका छन् ।

शनिबार बिहानैदेखि राजधानी भित्र र बाहिरका अधिकांश सिंगल तथा मल्टिप्लेक्स ‘स्कृन’ मा दर्शक अभाव भएन । मल्टिप्लेक्सले प्रदान गरेको अधिकांश शोज हाउसफुल भए । सिंगल थिएटरमा दर्शकको उपस्थिति सर्वाधिक देखियो ।


दुबै चलचित्रका वितरकले शनिवारको व्यापारलाई आक्रामक भनेका छन् । निर्माताले सर्वाधिक सेयर हात पार्ने चाबहिलको गोपीकृष्णमा ‘रामकहानी’ नलाग्दा त्यसको फाइदा ‘रोज’ ले गजबले उठाएको छ ।

सो हलका तीन पर्दा गोपी, कृष्ण र नमः दिउँसो २ बजे हाउसफुल भए । धेरै दर्शक टिकट नपाएर हिन्दी र प्रदर्शनरत नेपाली चलचित्र हेर्न बाध्य भएका थिए ।


दिउँसो गोपीकृष्ण पुगेका अभिनेता प्रदीप खड्का, अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगर हजारौं दर्शकको भिडमा घेरिए । एक सेल्फी नखिचि दर्शकले हलचल गर्न दिएनन् । हलमा प्रदीपको क्रेज जबर्जस्त देखिएको थियो ।

चितवन, धरान, पोखरालगायतका सहरबाट उनलाई भेट्नकै लागि गोपीकृष्ण पुगेका युवती फ्यानहरु कम थिएनन् । कोही रुँदै त कोही अंकमाल गर्दै प्रदीपप्रति प्रेम दर्शाए । चलचित्रप्रति सबैको एकस्वर थियो, ‘रोज’ रक्स’, अनि उत्कृष्ट फिल्म ।


निर्देशक सुदर्शन थापासहित ‘रामकहानी’ का प्रमुख कलाकारहरुले पनि शनिबार बिहानैदेखि राजधानीका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझे । दिउँसो दर्शकको अत्याधिक चाप रहने अष्टनारायण पुग्दा चलचित्रका कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपालसँग सेल्फी खिच्नेको भिड थेगिसक्नु थिएन ।

राजधानीका गुण, गंगाजस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा पनि शनिवार बिहानैदेखि ‘रोज’ र ‘रामकहानी’ हेर्ने दर्शकको उपस्थिति उत्साहजनक छ ।


उता, राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल, कुमारी हलसँगै विग मुभिज, एफक्यूव, विएसआर मुभिजको हरेक शोमा दर्शक भरिभराउ देखिएका छन् ।

मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि दुई चलचित्रले हाउसफुल दर्शक भित्राएका छन् । दुबै चलचित्र नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गरेर प्रदर्शनमा आएका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu