असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ‘इन्टु मिन्टु लण्डनमा’ । गीतसंगीत र ट्रेलरबाट हाइप पाएको उक्त चलचित्रमा धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ । रेनाशा वान्तवा राईले यसको निर्देशन गरेकी हुन् ।
अहिले धिरज र साम्राज्ञीले चलचित्रको प्रचारका लागि प्रयाप्त समय छुट्याएका छन् । हालै उनीहरुले मोफसलका विभिन्न ठाउँमा पगेर दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गरे ।

भापाको बिर्तामोड, दमक, बिराटनगर, धरान, इटहरी हुँदै फिल्म यूनिट आइतवार राजधानी फिरेको छ । मंगलवार पुनः ‘इन्टु मिन्टु’ अर्थात् धिरज र साम्राज्ञी पोखरा जाँदैछन् । त्यहाँ पत्रकार भेटघाटदेखि दर्शकलाई चलचित्रको विषयमा जानकारी दिने कार्यक्रम रहेको निर्देशक राईले बताइन् ।
मोफसल दौडाहामा धिरज र साम्राज्ञीको क्रेज फ्यानमाझ गज्जबको देखिएको थियो । दर्शकको भिडबाट उनीहरुलाई जोगाउन निर्माण टिमलाई हम्मेहम्मे परेको थियो । एक सेल्फी नखिचि दर्शकले दुबैलाई पाइला सार्न दिएनन् ।

इटहरीको रिपोर्टस् क्लबमा आयोजना गरिएको कार्यक्रममा अहिलेकी साम्राज्ञीका ‘डाइहार्ट’ फ्यानहरु भेटिए । जसमध्ये एक थिइन् इटहरीमा ‘पेस्को मेकअप स्टुडियो’ सञ्चालन गर्दै आइरहेकी मनिता तामाङ ।
उनले साम्रज्ञी र उनको टिमलाई मायाको चिनो बोकेर पत्रकार भेटघाट कार्यक्रममा नै पुगेकी थिइन् । उनले साम्रज्ञी र टिमलाई चलचित्रको पोस्टर फ्रेममा सजाएर आकर्षक मायाको चिनो प्रदान गरेकी थिइन् । तामाङ साम्राज्ञीको ठुलो फ्यान भएको बताउँछिन् ।

मोफसलका दर्शकबाट पाएको प्रतिक्रियाले आफूलाई चलचित्र सफल हुनेमा विश्वास बढेको निर्देशक राईले बताएकी छन् । चलचित्रको कथा र मेकिङमा बढी मिहिनेत गरेको उनको भनाई छ ।
‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित चलचित्रका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।
शैलेन्द्र धोज कार्कीको छायांकन रहेको रोमान्टिक लभस्टोरीमा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ ।




