इन्टिमेट सिनले करिअरलाई घात गर्दैन : प्रमोद अग्रहरी



कलाकार प्रमोद अग्रहरी हेवी स्वर भएका लोकप्रिय कलाकार हुन् । नवलपरासीमा जन्मिएका प्रमोद सन् २००४ देखि नै कलाकारितामा सक्रिय छन् ।

अभिनयको कक्षा नलिई चलचित्र क्षेत्रमा प्रवेश गर्दा प्रतिस्पर्धाको दुनियाँमा पछि परिन्छ भनेर नेपाल आएर पनि उनले नाटकमा अभिनय गरे । जसले उनलाई थप तिखार्दै लग्यो ।

चलचित्र ‘उमा’ मा माओवादी छापामार बनेर देखा परेका उनले त्यसपछि दर्जन बढी चलचित्रमा फरक-फरक चरित्र निभाए ।

मधेशी पात्रमा मात्र टाँसिएर बसेको आरोप खेपिरहेका उनको नयाँ चलचित्र ‘कथा काठमाण्डू’ असोज १२ गते प्रदर्शनमा आउँदैछ । यो चलचित्र गीतसंगीत र ट्रेलरका अहिले निकै चर्चामा छ । उनी यो फिल्म ‘सञ्जीवनी बुटी’ साबित हुनेमा आशावादी छन् ।

अभिनेत्री प्रियंका कार्कीसँगको इन्टिमेट सिनका कारण यतिबेला सबैको नजरमा परेका उनी उक्त चलचित्रलाई आफ्नो करिअरको दोस्रो अध्याय भन्न रुचाउँछन् । अन्य चलचित्रभन्दा भूमिका पनि फरक रहेको उनको भनाई छ ।

पढ्नुहोस् उनीसँग चलचित्रको विषयमा गरिएको विशेष कुराकानी :-

१. प्रियंकासँगको इन्टिमेट सिन करिअरका लागि घातक बन्ला ?

मलाई त्यस्तो लाग्दैन । म एउटा कलाकार हुँ । कलाकार भएपछि हामीले हरेक किसिमको क्यारेक्टर गर्नुपर्ने हुन्छ । सँगसँगै समाजप्रति उसको एकखालको नेतृत्व पनि हुन्छ । आफूले गरेको कामबाट समाजलाई राम्रो हुन्छ र सन्देश दिन्छ भने किन नगर्ने ?

नेपाली चलचित्रको ५५ वर्षको इतिहास छ । तर, किन मुम्बईया चलचित्र मात्र बन्यो हामीकहाँ ? हाम्रो कथालाई किन कहिल्यै ल्याइएन ? यो काहिँबाट त सुरु हुनु नै थियो र ‘कथा काठमाण्डू’ बाट भयो । मलाई लाग्दैन इन्टिमेट सिनकै कारण मेरो करिअरलाई घात हुन्छ ।

२. गीतसंगीत र ट्रेलरबाट पोजेटिभ र नेगेटिभ कमेन्ट कस्तो पाइरहनु भएको छ ?

पहिला जसरी गीत रिलिज भयो केही नेगेटिभ कमेन्टहरु आएका थिए । सँगै केही पोजेटिभ पनि थिए । तर, मात्रामा हेर्ने हो भने नेगेटिभ कमेन्ट बढी थिए । पहिलो पटक गीत हेर्दा धेरैलाई छाडापन लाग्यो ।

तर, पछि हेर्दै जाँदा गीतमा कथा, क्यारेक्टर र पिडा भेट्न थाल्नुभयो । ट्रेलरसम्म आइपुग्दा भने अधिकांशलाई एउटा पखाई नै भएको छ । अहिले सबैले राम्रो भन्नुभएको छ ।

३. ‘कथा काठमाण्डू’ लाई तपाईको करिअरको दोस्रो अध्याय भन्दा गलत हुन्छ ?

म यहाँसम्म आइपुग्नुको कारण मेरा सबै क्यारेक्टर रुचाइदिएर नै हो । मैले अहिलेसम्म जति पनि चलचित्र गरे तीबाट मलाई राम्रो नै भएको छ । चाहे सफल भएका हुन् वा दुई दिनमै उत्रिएका किन नहुन ।

मेरा यसअघिका चलचित्र राम्रो हुँदैन थियो भने मलाई संगीता श्रेष्ठले ‘कथा काठमाण्डू’ मा कास्ट पनि गर्दिन थिइन् होला । यो चलचित्रलाई म करिअरको दोस्रो अध्याय मान्न भने तयार छु ।

४. फिल्ममा निभाएको भूमिका पहिलादेखि नै गर्न मन थियो ?

मलाई त समाजमा देखिने हरेक क्यारेक्टर गर्नु छ । तर, रियालिटी बेसमा भएर । चाहे त्यो रिक्स चलाउने होस् वा मकै पाल्ने नै किन नहोस् । मलाई सबै क्यारेक्टर गर्न मन छ ।

५. नयाँ निर्देशक हुनुहुन्छ संगीता श्रेष्ठ । के विश्वास थियो हुबहुँ स्क्रिप्ट पर्दामा उतार्न सक्नुहुन्छ भन्ने ?

हुबहुँ त थाहा छैन । मलाई के विश्वास थियो भने त्यो क्यारेक्टर एउटा जन्मिन्छ । म आफूभित्रबाट जन्माउँछु । मैले देखेका कुराहरुबाट जन्माउँछु । संगीताले जे भन्न भनेको छ त्यो स्पष्ट रुपमा आउँछ भन्नेमा मलाई शंका थिएन ।

६. आफूलाई मधेशी पात्रमा मात्र अल्झाइयो भन्ने तपाईको गुनासो थियो । यो फिल्मबाट कति टाढा हुनुहुन्छ ?

फरक छ । गएको ६ वर्षमा मेरो १२/१५ वटा फिल्म रिलिज भयो त्यसमध्ये यसमा आकाश- जमिनको फरक पाउनुहुन्छ । लुक्स, पर्सानालिटी, भाषा र मनोविज्ञान एकदमै फरक छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu