साम्राज्ञी भन्छिन्, ‘दिनहुँ चलचित्रको अफर आउँछ’



अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ गीतसंगीत र ट्रेलरका कारण निकै चर्चामा छ । यो चलचित्र असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

एक दशकदेखि कोरियोग्राफरको रुपमा काम गर्दै आइरहेकी रेनाशा वान्तवा राईले उक्त चलचित्रबाट फिचर चलचित्र निर्देशनमा हात हालेकी छिन् । इन्टु र मिन्टु पात्रको प्रेम जीवनमा आउने उतारचढावको कथा चलचित्रले भन्छ ।


रिलिज डेट नजिकिँदै गर्दा अहिले चलचित्रको जम्बो टिम मोफसल प्रचारमा व्यस्त छ । पूर्वका विभिन्न सहरमा पत्रकार सम्मेलन र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै मंगलवार निर्देशक राईसँगै साम्राज्ञी, धिरज र अर्का लिड कलाकार सारुक ताम्राकार पोखरा पुगे ।

दर्शकसँग साक्षात्कार गर्नु अगाडि आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक राईले बाल्यकालमा खेलिने खेललाई ‘इन्टु मिन्टु लण्डनमा’ ले पूर्नजागरण र स्मरण गराउने बताइन् । बाल्यकालको खेललाई फिल्मी शैलीमा ढालेको उनको भनाई छ ।

‘२ वर्षको मिहिनेत हो ‘इन्टु मिन्टु लण्डनमा’ । कथा र मेकिङमा बढी मिहिनेत गरेका छौं । लभस्टोरी जनरा लभर्सका लागि यो चलचित्रले निराश बनाउँदैन’, उनले भनिन् । रेनाशा यसलाई फेमिली चलचित्र भन्न रुचाउँछिन् ।

अभिनेता धिरज मगरले उक्त चलचित्रले नेपाली फिल्म इन्डष्ट्रीमा एउटा परिवर्तन ल्याउने दाबी गरे । उनी कडा मिहिनेत गरेका कारण फल मिठो पाउनेमा आशावादी देखिए ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘इन्टु मिन्टु लण्डनमा’ आफ्नो लागि मात्र नभएर इन्डष्ट्रीको लागि पनि राम्रो हुने बताइन् । ‘मैले गरेका यसअघिका चलचित्रभन्दा यसमा सबै कुरामा चित्त बुझेको छ । मेकिङदेखि सबै कुरामा चलचित्र अब्बल छ’, उनले भनिन् ।

हलिउड र बलिउड जस्तो मेकिङ नेपाली चलचित्रको नहुने गरेको दर्शकको गुनासोलाई ‘इन्टु मिन्टु लण्डनमा’ ले पूरा गर्ने उनको ठोकुवा छ । उनी भन्छिन्, ‘चलचित्रमा मैले ड्रिम रोल गर्न पाएको छु । मैले सोचेको र खोजेको चलचित्र हो यो ।’

हरेक चलचित्रमा नयाँ हिरोसँग रोमान्स गर्नुको पछाडि आफ्नो हात नभएको उनले फेरि स्पष्ट पारिन् । पत्रकारको प्रश्नको उत्तर दिँदै उनी भन्छिन्, ‘नयाँ हिरो मेरो माग होइन । कथा र निर्माता-निर्देशकको हो ।’


‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ पछि उनी अभिनीत चलचित्र घरेलू बजारमा गर्व गर्न लायक गरि चलेका छैनन् । के तपाईलाई फेरि अनमोल केसी नै चाहिएको हो ? पत्रकारको प्रश्नमा उनी हाँसिन् । ‘जति पनि निर्माता र हिरोहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ म चाहिने हो’, उनले जवाफ फर्काइन् ।

लगातार पर्दामा आइरहनु र एकपछि अर्को चलचित्र बक्सअफिसमा असफल हुँदै जाँदा उनको स्टारडम खतरामा पर्दै गएको चर्चा हुन थालेको छ । तर, उनी यो कुरा मान्न तयार छैनन् । उनी स्टारडममा असर पुगेको भए दिनहुँ चलचित्रको अफर नआउनु पर्ने बताउँछिन् ।

अभिनेता सारुक ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा’ हरेक कोणबाट उत्कृष्ट बनेको बताए । चलचित्रलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

                                                                                                                                                   तश्बिर : जक्सन डटकम

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu