एक करोडमा बिक्री भयो ‘छक्का पञ्जा ३’ को विदेश राइट्स



दशैँमा प्रदर्शनमा आउने चलचित्र ‘छक्का पञ्जा ३’ को विदेश राइट्स हाइलाइट्स नेपालले एक करोडमा खरिद गरेको छ । अब यो चलचित्रको विदेश प्रदर्शनको डिल हाइलाइट्सले मात्र गर्नेछ ।

यो यूट्युब कम्पनीले यसअघि ‘छक्का पञ्जा २’ को डिजिटल र ओभरसिज राइट्स ९५ लाखमा खरिद गरेको थियो । निर्माता तथा कलाकार दीपकराज गिरीले यसपटक चलचित्रको डिजिटल राइट्स बिक्री नगरेको बताए ।

उनले भने, ‘हामी अब यूट्युबमा भन्दा नेटफिक्स जस्ता भिडियो साझेदारी साइटमा आउन चाहन्छौं । ६-६ महिनामा चलचित्र यूट्युबमा रिलिज हुँदा हलको व्यापारलाई धेरै कम गरिरहेको छ । यही कारणले यसपटक चलचित्र यूट्युबमा रिलिज नगर्न लागेका हौं ।’


‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ गीतका कारण चर्चामा रहेको ‘छक्का पञ्जा ३’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ ।

यसको कथा दीपक आफैंले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।

चलचित्रमा दीपकका अलावा दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, बुद्धि तामाङलगायतको अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu