असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कथा काठमाण्डू’ ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । ट्रेलर र गीतमा देखिएको अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण उक्त चलचित्रले एडल्ट सर्टिफिकेट पाउने धेरैको पूर्वअनुमाान थियो ।
अब यो चलचित्र हेर्न १६ वर्ष उमेर मुनीकाले अभिभावक लिएर जानु पर्ने हुन्छ । निर्देशक संगीता श्रेष्ठका अनुसार, केही सिन काट्न लगाएर बोर्डले पिजी सर्टिफिकेट दिएको हो ।
उनले गीत र ट्रेलर हेरेर फिल्मको मुल्यांकन गर्नेलाई बोर्डको सर्टिफिकेटले जवाफ दिएको बताइन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ ।
‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । यो चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।
अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त चलचित्रमा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।