शिवम अधिकारी निर्देशित चलचित्र ‘पञ्चायत’ ले २०१९ मा घोषणा गरिने ९१ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा सहभागिता जनाउने भएको छ ।
विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा प्रतिस्पर्धी बन्नको लागि अस्कर अवार्डमा नेपालका लागि चलचित्र छनौट समितीमा तीन चलचित्र ‘तान्द्रो’, ‘पञ्चायत’ र ‘माइ लभ’ दर्ता हुन आएका थिए ।

नेपालको लागि विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले ‘पञ्चायत’ लाई छनौट गरेको हो । समितीले एकेडेमी अवार्डको लागि दर्ता हुन आएका तीनवटै चलचित्रको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरि ‘पञ्चायत’ छनौट गरेको हो ।
२०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका चलचित्रहरुले नेपालको छनोट चरणमा सहभागी हुन पाउने प्रावधान थियो ।

विमल पौडेलको अध्यक्षता रहेको छनोट समितिमा चिरञ्जीवी गुरागाईं सचिव, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली र सामीप्यराज तिमल्सेना सदस्य थिए ।




