प्रदर्शनको अघिल्लो दिन अर्थात् बिहीवार राजधानीको सिटी सेन्टरमा रहेको विग मुभिजमा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ भब्य प्रिमियर गरिएको छ । निर्माता प्रभु समशेर जबरासहित फिल्मको टिमले रिवन काटेपछि प्रिमियर सुरु भएको थियो ।
भुवन केसी, झरना थापा, नम्रता श्रेष्ठ, रमेश उप्रेती, दिनेश राउत, हेमराज विसी, केकी अधिकारी, बेनिशा हमाललगायतका चलचित्रकर्मी प्रिमियरमा उपस्थित भएका थिए ।
निर्देशक रेनाशा वान्तवा राईको साथमा चलचित्रका प्रमुख कलाकार धिरज मगर, सारुक ताम्राकार र सुनिशा बजगाईँले एकसाथ प्रिमियरमा ईन्ट्री लिएका थिए । अभिनेत्री साम्राज्ञी आरएल राणा भने केही ढिला उपस्थित भइन् । कालो पहिरनमा ब्ल्याक ब्यूटी भएर पुगेकी उनी नै प्रिमियरको प्राण बनेकी थिइन् ।
प्रिमियरको तामझाम सकिएर चलचित्र सुरु हुँदा लगभग ७ बज्यो । केही मिनेट कलाकार, निर्माता र निर्देशकले आफ्नो भनाई राखे । निर्देशक राईले भावुक हुँदै २ वर्षको मिहिनेतले लिएर आएको बताइन् । अभिनेता धिरज पनि आफ्नो भनाई राख्ने क्रममा गहभरी भए ।
उनले आफ्नो डेब्यु फिल्म राम्रो र नराम्रो जस्तो लागेपनि प्रतिक्रियाको अपेक्षा राखेको बताए । अभिनेत्री साम्राज्ञी मिहिनेतको फल मिठो हुने भन्दै खुसी देखिइन् । चलचित्र लगभग साँझ साढे ९ बजे सकियो । अधिकांशले फिल्मको मेकिङ, संगीतपक्ष र लोकेशनको तारिफ गरे ।
चलचित्र हेर्नेले अभिनेता सारुकको कामलाई उत्कृष्ट भनेका छन् । आर्मी अफिसरको भूमिकामा निभाएका उनको अभिनय र डाइलग डेलिभरी उम्दा छ । मध्यान्तरपछि फिल्म करिब–करिब उनकै काँधमा अडेको छ । पहिलो चलचित्रमा धिरजले गरेको कामलाई पनि प्रशंसा गर्ने धेरै थिए ।
साम्राज्ञीको अभिनयमा पनि केही ग्रोथ देखिएको चलचित्रकर्मीको प्रतिक्रिया थियो । अभिनेत्री झरनाले चलचित्र उत्कृष्ट लागेको भन्दै दर्शकलाई हेर्न आग्रह गरिन् । अभिनेता रमेशले सारुकको तारिफ गरेर थाकेनन् । हास्यकलाकार दीपाश्री निरौलाले निर्देशक रेनाशाको पहिलो प्रयास भएपनि उत्कृष्ट रहेको बताइन् ।
निर्देशक सुदर्शन थापाले चलचित्रमा प्रोडक्सन भ्यालू र सेटिङ राम्रो रहेको भन्दै प्रशंसा गरे । भुवन केसी, नम्रता श्रेष्ठ, केकी अधिकारी, बेनिशा हमाललगायतले पनि चलचित्रबारे राम्रो बोले । धेरैलाई चलचित्रको मेकिङले लोभ्याएको थियो ।
चलचित्रलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।
चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ ।
भिडियो :-