‘इन्टु मिन्टु लण्डनमा’ ले गर्‍यो आक्रामक ओपनिङ, हलमा देखियो धिरज र साम्राज्ञीको क्रेज (फोटो र भिडियो)



शुक्रबारबाट प्रदर्शनमा आएको प्रतिक्षित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले घरेलु बजारमा आक्रामक ओपनिङ गरेको छ । चलचित्र हेर्न हलमा दर्शकको घुइँचो लागेको छ ।


मल्टिप्लेक्स अडियन्स केन्द्रित चलचित्र भएपनि दर्शकको भिडभाड सिंगल स्कृनमा पनि कम छैन । शुक्रबार बिहानदेखि साँझसम्म ८० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्रको शनिबार शतप्रतिशत रह्यो ।

अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धिरज मगरको चलचित्रले दुई दिनमा डेढ करोडको कलेक्सन अनुमान गरिएको छ । आधिकारिक बक्सअफिस रिपोर्ट भने प्राप्त भएको छैन । वितरक मनोज राठीले ‘इन्टु मिन्टु लण्डनमा’ वर्षकै सबैभन्दा ठूलो ओपनर चलचित्र बनेको दाबी गरे ।


मल्टिप्लेक्समा चलचित्रको टिकट सर्वाधिक सेल्स भएको छ । राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले शनिबार यो चलचित्रलाई १२ सोज दिएको थियो । जसमध्ये अधिकांश सोज हाउसफुल रहे । वितरक राठी चलचित्रको कमाई देखेर उत्साहित छन् ।

प्राप्त जानकारी अनुसार, चलचित्रले शनिबार मात्र घरेलु बजारमा एक करोडको कमाई गरेको छ । हलमा चलचित्र हेर्ने अधिकांश दर्शक १६-२० वर्ष उमेर समुहका छन् । साम्राज्ञी र धिरजको क्रेज प्रमाणित भएकोमा निर्देशक रेनाशा वान्तवा राई दंग देखिएकी छन् ।


शनिबार दिउँसो राजधानीका विभिन्न हल पुग्दा चलचित्रका प्रमुख कलाकार साम्राज्ञी, धिरज र सारुक ताम्राकारलाई टिमले बडिगार्ड उपलब्ध गराएको थियो । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न दिउँसो गोपीकृष्ण हलमा पुगेका चलचित्रका कलाकारलाई दर्शकबाट जोगाउन बडिगार्डलाई समेत हम्मेहम्मे परेको थियो ।

मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि फिल्मले शुक्रबार र शनिबार हाउसफुल दर्शक भित्राएको छ । चलचित्रले आक्रामक ओपनिङ गर्नुमा प्रमोसन, गीत र स्टार कास्टलाई मानिएको छ ।

समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो चलचित्रले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको लाइफटाइम कलेक्शन भने आइतबारदेखिको व्यापारमा भर पर्नेछ । चलचित्रलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

केही हप्ता लण्डन घुम्न गएकी मिन्टु अर्थात् मिरा (साम्राज्ञी) र लण्डनकै रैथाने इन्टु अर्थात् इशान (धिरज) को प्रेमकथा वाचन गरेको चलचित्रमा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको अभिनय छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu