अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धिजर मगर स्टारर चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले नेपालमा आशातित व्यापार गर्दैगर्दा अब विदेश प्रदर्शनको थालनी गर्ने भएको छ । लेडी निर्देशक रेनाशा वान्तवा राईले दर्जन बढी देशमा चलचित्रको प्रदर्शन हुन लागेको जानकारी दिइन् ।
अक्टूबर ११, १२ र १३ तारिखमा चलचित्र अष्ट्रेलियामा प्रदर्शन हुँदैछ । यस्तै, अक्टूबर २१ मा कोरिया, अक्टूबर २९, ३० र ३१ मा लण्डन, नोभेम्बर ३ मा पोल्याण्ड, नोभेम्बर ९ मा हङकङ र नोभेम्बर १५ मा डेनमार्कमा चलचित्र प्रदर्शन हुने कन्फर्म भएको छ ।

सिंगापुर, जापान, अमेरिका, ब्रुनईमा पनि चलचित्र प्रदर्शनका लागि कुरा भइरहेको निर्देशक राईले जानकारी दिइन् । उनका अनुसार, नेपालमा चलचित्रको कलेक्सन र माउथ पब्लिसिटीका कारण विदेशमा डिमान्ड बढ्दो छ । उनी २ वर्षको मिहिनेत सफल भएकोमा दंग छिन् ।
चलचित्रलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।
प्रज्ज्वल र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा शैलेन्द्र धोज कार्कीको छायांकन, टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रमा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणाको पनि अभिनय छ ।




