पपुलर हुन ‘कथा काठमाण्डू’ गरेकी होइन : प्रियंका कार्की



अभिनेता प्रियंका कार्कीले चलचित्र ‘कथा काठमाण्डू’ मा अभिनेता प्रमोद अग्रहरीसँग इन्टिमेट सिन दिएपछि अहिले उनको चर्को आलोचना भइरहेको छ । नियमित हलिउड वा बलिउड चलचित्र हेर्न दर्शकका लागि अन्तरंग दृश्य अपाच्य होइन ।

तर, नेपाली समाजले आपत्तिजनक सिन अझै सहज रुपमा पचाउन सकिरहेको छैन । यसकारण प्रियंकाको विरोध र आलोचना हुनुलाई स्वभाविक मान्न सकिन्छ । यो प्रियंकाले पनि बुझेकी छिन् । आफूले दिएको इन्टिमेट सिनको आलोचना हुन्छ भन्ने उनलाई चलचित्र साइन गर्दाखेरि नै थाहा थियो ।


तर, किन गीत सार्वजनिक भएपछि चर्को रुपमा भएको आलोचनाको जवाफ फर्काउन उचित ठानिन् उनले ? अर्थात् किन लुक्ने प्रयास गरिन् ? आइतवार दिल्लीबजारको एक रेस्टुराँमा ३५ मिनेट पत्रकारसँग गफिएकी प्रियंकाले यस बारेमा सबैकुरा छर्लङ्ग पार्ने कोशिश गरिन् । उनी योजनाअनुसार नै गीतलाई लिएर भएको विवादको विषयमा मुख नखोलेको बताउँछिन् ।

आखिर किन ? उनी भन्छिन्, ‘प्रमोदसँग गरेको अभिनयलाई लिएर आलोचना हुन्छ भन्ने कुरा मलाई चलचित्र साइन गर्दा नै थाहा थियो । तर पनि मैले जोखिम मोल्न चाहेँ । फिल्म हेरेपछि दर्शकलाई बुझाउन सकिन्छ भन्ने मलाई विश्वास थियो र छ । ट्रेलर रिलिज पश्चात् र सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएपछि धेरैको चलचित्रप्रति सोच परिवर्तन भएको छ ।’

उनी अगाडि भन्छिन्, ‘गीत सार्वजनिक हुँदा म अमेरिकामा थिएँ । नेपालमा मेरो धेरै आलोचना भएछ । मलाई दुःख लागेन । मैले त्यसबेला चुप बस्नु नै ठिक ठानेँ । बेकारमा बलेको आगोमा ध्यूँ किन थप्ने जस्तो लाग्यो । यो कुरा मैले निर्देशक संगीता श्रेष्ठसँग पनि भनेको थिएँ । उहाँको पनि सहमती भएपछि मैले चुप बस्ने निर्णय गरेँ ।’

रिलिजको एक हप्ता अगाडिदेखि चलचित्रको पब्लिसिटीमा अनुहार देखाएकी उनी आफ्नो टाइट सेड्युलका कारण समय निकाल्न नसकेकोमा टिमसँग माफी माग्छिन् । गीतको अन्तिम अंश पोर्न साइटमा समेत भेटिएको छ । परिवार र प्रेमी आयुष्मान देशराज जोशीको रियाक्सन कस्तो रह्यो ? प्रियंकालाई पत्रकारले प्रश्न गरे ।

उनीभन्दा अगाडि निर्देशक संगीताले जवाफ दिइन् । भनिन्, ‘गीत रिलिज गर्नुभन्दा अगाडि मैले आयुष्मानलाई देखाएको थिएँ । उसले केही आपत्ति जनाएन । ऊ एक असल व्यक्ति मात्र होइन राम्रो कलाकार पनि हो ।’ उनको कुरा नसकिँदै प्रियंकाले परिवारलाई आफूले उक्त सिन गर्न लागेको पहिला नै थाहा भएको बताइन् ।


‘आयुष्मानले फोन गरेर मेरो प्रशंसा गरेको थियो’, प्रियंकाले एकै सासमा भनिन्, ‘उसले ‘आई एम भेरी प्राउड अफ यु बुढी’ भन्दा म अत्यन्त खुसी भएकी थिएँ । उसलाई पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु ।’ प्रियंकाले चलचित्र ‘कथा काठमाण्डू’ को मूल कथा पनि खोट्याउन भ्याइन् । चलचित्रले महिला हिंसाको कथा वाचन गरेको उनको भनाई छ ।

प्रियंका भन्छिन्, ‘चलचित्रमा मैले एउटा हिंसा सहेर बसेको यूवतीको भूमिका निभाएको छु । एउटा सक्सेस मोडल भएपनि रिलेसनमा बाँधिएको र बोल्न नसक्ने चरित्रमा छु । यसको झझल्को गीतमा पनि आएको थियो । हाम्रो समाजमा महिलाहरुलाई आवाज उठाउन होइन दविएर बस्न सिकाइन्छ । यही विरुद्धको आवाज चलचित्रले बोल्छ ।’

उक्त चलचित्र गर्न पाएकोमा उनी आफूलाई गर्व महशुस गर्छिन् । ‘यो कुनै पब्लिसिटी स्टन्ट या पपुलर हुन खोजिएको केही पनि होइन । यदी यही गरेर पपुलर हुन चाहन्थेँ भने धेरै अगाडि गर्थेँ । मैले यत्रो वर्ष कुर्नु पर्दैन थियो । सही समयमा सही चलचित्र छनौट गरेकोमा मलाई पश्चताप छैन’, उनले निर्धक्क भनिन् ।

दर्शकबाट पाएको गालीलाई उनी आफूप्रतिको प्रेम सम्झन्छिन् । ‘जसलाई सबैभन्दा बढी माया गरिन्छ उसलाई त होनि गाली गर्ने पनि’, उनले भनिन्, ‘मैले दर्शकको गालीलाई पनि माया सम्झिएको छु ।’ दर्शकबाट इन्टिमेट सिनलाई सुन्दर ढंगबाट नपस्किएको गुनासोलाई पनि उनले मेट्ने प्रयास गरिन् ।

‘रिलमा होस् या रियल, सेक्सुअल अबयूज कहिल्यै ब्यूटिफुल हुँदैन । लभ मेकिङ चाहिँ ब्यूटिफुल हुन्छ । जब एउटा छोराले एउटी छोरीलाई सेक्सुअल अबयूज गर्छ तब त्यो कहिल्यै ब्यूटिफुल हुँदैन । त्यसलाई ब्यूटिफुल देखाउनु भयो भने तपाई असफल हुनुहुन्छ ।’ प्रियंका आफूले गाली खानुको कारण यसैलाई मान्छिन् ।

चरित्रलाई न्याय दिन सकेका कारण दर्शकबाट गाली खाएको उनको तर्क छ । चलचित्रमा तीन स्टोरीमध्ये प्रमोद र आफ्नो लस्टको स्टोरी रहेको उनले बताइन् । निर्देशक संगीता श्रेष्ठले घरमै सीमित हुनुपर्ने भएकाले गाउँघरका महिला मात्र हिंसाको शिकार हुन्छन् भन्ने सोच चलचित्रले तोड्ने दाबी गरिन् ।

‘हामी गाउँमा मात्र देखेको घरेलु हिंसा सहरमा पनि कम छैन । शिक्षित र दक्ष महिलाहरु पनि घरमा गएपछि श्रीमान वा परिवारबाट अबयूज हुन्छन् । तर त्यो कुरा उनीहरुले बाहिर ल्याउँदैन । किनकी महिलालाई समाजले सबै कुरा सहनु पर्छ भनेर सिकाएको छ । यही घरेलु हिंसालाई हामीले चलचित्रमार्फत् देखाउन खाजेका हौं’, उनले भनिन् ।


अभिनेता प्रमोद अग्रहरीले ‘कथा काठमाण्डू’ गर्नुको कारण समाजमा बढ्दो घरेलु हिंसालाई अन्त्य गर्नका लागि रहेको बताए । उनले भने, ‘मैले देखिरहेको कथा हो यो । सबैले सम्मान जीवन जिउन पाउनु पर्छ । मैले आफ्नो अभिनयमार्फत् एउटा कलाकारले समाजप्रतिको गर्नुपर्ने दाहित्व पूरा गरेको हुँ ।’

यसअघि प्रियंकासँग चलचित्र ‘सुन्तली’ मा काम गरेका प्रमोदलाई ‘कथा काठमाण्डू’ ले अन्यायको विरुद्धको आवाज उठाउने विश्वास छ । यो चलचित्रमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको पनि प्रमुख भूमिका छ । चलचित्रको कथा निर्देशक श्रेष्ठ आफैंले लेखेकी हुन् ।

अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । असोज १२ गते आउने उक्त चलचित्रमा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् । काठमाडौंमा हुने तीन भिन्नभिन्न कथालाई चलचित्रमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu