अभिनेता अनमोल केसीलाई लिएर ‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’ चलचित्र निर्देशन गरेका हेमराज विसीले अभिनेता प्रदीप खड्कालाई लिएर नयाँ चलचित्र बनाउने भएका छन् । रोम-कम जनराको चलचित्रमा प्रदीप अनुबन्ध भएका हुन् ।
केही दिन अगाडि मात्र निर्देशक र अभिनेताबीच कागजी सम्झौता भएको हो । स्रोतका अनुसार, शुक्रवारबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘लभ स्टेशन’ को निर्देशनको अफर उज्जवल घिमिरेभन्दा अगाडि हेमराजलाई नै गरिएको थियो । चलचित्र ‘ब्रेकअप’ का कारण उनले गर्न सकेनन् ।
अधिकांश छायांकन फ्रान्समा हुने चलचित्रमा प्रदीपको अपोजिटका लागि अहिले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग कुरा भइरहेको छ । उनी चलचित्र गर्ने मनस्थितिमा रहेको खबर छ । यसअघि प्रदीपको ‘भैरवी’ र ‘लभ स्टेशन’ गर्न अस्विकार गरेकी उनी यसपटक सकारात्मक देखिएकी छन् ।
निर्देशक विसीले फिल्मको नाम भने खुलाउन चाहेनन् । उनका अनुसार, बैशाखबाट चलचित्रको छायांकन सुरु हुनेछ । ‘अहिले हामी चलचित्रको सुरुवात चरणमा छौं । बाँकी केही भन्न मिल्दैन’, उनले भने । अहिले चलचित्रको स्क्रिप्ट फाइनल गर्ने काम भइरहेको छ ।