हतारमा हलबाट उत्रिए लगत्तै नेपाली चलचित्र युट्युबमा रिलिज हुँदा यसले हलको व्यापारमा निकै ठूलो असर गरेको छ । अचेल दर्शक हल होइन घरमा बसेर युट्युबमा नयाँ चलचित्रको प्रतिक्षा गर्न थालेका छन् ।
हाल प्रदर्शनरत चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ टिमले भने चलचित्रलाई युट्युबमा नल्याउने घोषणा गरेको छ । निर्देशक रेनाशा वान्तवा राईले चलचित्रलाई भिडियो साझेदारी साइट नेटफिक्समा ल्याउने तयारी भइरहेको बताइन् । युट्युब रिलिजले गर्दा चलचित्रको व्यापार कम भइरहेको उनको तर्क छ ।
उनले भनिन्, ‘हामी यूट्युबभन्दा नेटफिक्स जस्ता भिडियो साझेदारी साइटमा आउन चाहन्छौं । ६-६ महिनामा चलचित्र यूट्युबमा रिलिज हुँदा हलको व्यापारलाई धेरै कम गरिरहेको छ । यही कारणले चलचित्र युट्युबमा रिलिज नगर्न लागेका हौं ।’
शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन आरम्भ गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ मा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धिरज मगर प्रमुख भूमिकामा छन् । प्रज्वल सम्सेर जबरा र प्रभु सम्सेर जबरा निर्मित चलचित्रले हालसम्म साढे ३ करोड ग्रस कलेक्सन गरिसकेको छ ।