माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्का अभिनीत चलचित्र ‘प्रेमलीला’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको पोस्टरमा दीपशिखा मात्र फिचर्ड छिन् ।

क्रोधित मुद्रामा उनी मुडुलो टाउकोमा देखिएकी छन् । उनी यो फिल्मलाई आफ्नो डेब्यु भन्न चाहन्छिन् । चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । यो चलचित्रबाट भारतीय मोडल अली खानले डेब्यु गरेका छन् । उनले नेपाली फिल्ममा काम गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।

चलचित्रको कथा अनुसार हिन्दी बोल्न सक्ने पात्रलाई न्याय दिनका लागि भारतबाट अली खानलाई झिकाएको अभिनेत्री खड्काले जानकारी दिइन् । नेपालकी युवती र भारतीय एक युवकको प्रेमकथा चलचित्रले वाचन गर्ने बताइएको छ ।

चलचित्रलाई सुनिल मानन्धरले देशभर वितरण गर्दैछन् । पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । दीपशिखा र अलीसँगै चलचित्रमा मौसम खड्का, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि अभिनय छ ।

फैजल फिल्मस्को ब्यानरमा नानीमैयाँ कार्की निर्माता रहेको चलचित्रको कथा अभिनेत्री दीपशिखा स्वयमले लेखेकी हुन् । चन्दन दत्तको सम्पादन रहेको ‘प्रेमलीला’ मा रामजी लामिछाने र लोमस पौडेलको कोरियोग्राफी छ ।






