मंसिर ७ गतेबााट प्रदर्शनमा आउने चलचित्र ‘दि कर्मा’ को ‘जवानीको बजार लाग्या छ’ गीत बुधवार युट्युबमा सार्वजनिक भएको छ । गीतमा अभिनेत्री नीता ढुंगाना हाबी छिन् ।
एङ्ग्री लुक्समा देखिएकी अभिनेत्री परमिता आरएल राणा झल्याक–झुलुकमात्र देखिन्छिन् । तर, तारिफ उनकै बढी भइरहेको छ । ८८ हजार बढीले हेरिसकेको गीतलाई २ सय बढी कमेन्ट लेखिएका छन् । अधिकांशले परमिताको तारिफमा शब्द खर्चिएका छन् ।

बर्षा मगर लेख्छिन्, ‘परमिताको गीत भनेर हेर्न आउने जति यता ।’ रोजिना पौडेलले परमिताको लुक्स राम्रो भन्दै कमेन्ट गरेकी छन् । उषा मगरले परमिताको गीत भनेर मात्र हेरेको बताउँछिन् । गीतको कमेन्टमा उनको लुक्सलाई धेरैले रुचाएको प्रतिक्रिया दिएका छन् ।
नीताका लागि पनि राम्रा कमेन्ट लेखिएका छन् । तर, गीतमा उनी हाबी भएपनि तारिफ भने परमिताको बढी भइरहेको छ । यो पहिलो पटक भएको भने होइन । यसअघि फिल्म ‘चंगा चेट’ को ‘ढल्की ढल्की’ गीतमा प्रियंका कार्की र आयुष्मान देशराज हाबी थिए । तर, दर्शकले परमितालाई अत्याधिक रुचाए ।
‘दि कर्मा’ को ‘जवानीको बजार लाग्या छ’ गीतमा उनको लुक्स, अभिनय र पहिरनको दर्शकले सर्वाधिक मन पराएको युट्युबको कमेन्ट बोल्छ । उनी चलचित्रमा लेडी डनको भूमिकामा रहेको गीतमा देखिएको उनको लुक्सले खुलाउँछ । देव कुमार श्रेष्ठ निर्देशित चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना भन्छ ।
जय राज रायले निर्माण गरेको ‘दि कर्मा’ लाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् ।
निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।






