‘नाईँ नभन्नू ल’ फेम्ड निर्देशक विकासराज आचार्यले निर्देशन गर्ने नयाँ चलचित्र ‘हजार जुनी सम्म’ अहिले स्टार कास्टका कारण चर्चामा छ । केही दिन अगाडि चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का भित्रिएको खबर निर्देशक आचार्यले दिएका थिए । तर, औपचारिक रुपमा कागजी सम्झौता भने भएको थिएन ।
‘दाल भात तरकारी’ सँग सुटिङ जुध्ने भएपछि स्वस्तिमाले ‘हजार जुनी सम्म’ नगर्ने खबर पनि बाहिरिएको थियो । शनिबार निर्माता तथा निर्देशक आचार्य र अभिनेत्री खड्काबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । खबरअनुसार, ‘दाल भात तरकारी’ पछि उक्त चलचित्रको सुटिङ सुरु हुनेछ ।
चलचित्रमा उनको जोडी दिल्लीमा बस्दै आएका अकी प्रधानसँग बाँधिने फाइनल भएको छ । यस्तै, चलचित्रमा तीन स्टार कलाकारको पनि आगमन भएको छ । करीब १३ लाखमा अभिनेता आर्यन सिग्देलले उक्त चलचित्र साइन गरेका छन् । चलचित्रमा उनले अभिनेत्री प्रियंका कार्कीसँग रोमान्स गर्नेछन् ।
‘नाईँ नभन्नू ल २’ बाट विकासराजसँग सहकार्य गर्दै आइरहेकी प्रियंका ‘हजार जुनी सम्म’ मा पनि जोडिएका हुन् । चलचित्रमा अभिनेता सलोन बस्नेतको पनि अभिनय रहने निर्माण टिमबाट जानकारी प्राप्त छ । यो चलचित्र निर्देशक विकास र बाल कलाकार अनुभव रेग्मीकी आमा कविताको संयूक्त लगानीमा निर्माण हुन लागेको हो ।