जान्नुहोस् ‘छक्का पञ्जा ३’ चल्न सक्ने तीन आधार



अब नयाँ कलाकार र नयाँ नाममा चलचित्र बनाएर निर्माताले लगानी सुरक्षित गर्न मुश्किल बन्दै गएको छ । यही कारण अचेल मेकर्स चलेका कलाकारहरुको भीड लगाएर पुरानै नामको चलचित्रको सिरिज बनाउन अग्रसर देखिएका छन् । यसको एक उदाहरण ‘छक्का पञ्जा’ हो ।

पहिलो सिरिजले नेपाली चलचित्र इतिहासमै सर्वाधिक कलेक्सन गर्न सफल भएको थियो । १६ करोडमाथि कलेक्सन गरेपछि ‘छक्का पञ्जा’ को सिरिज निर्माण हुने क्रम रोकिएन । दीपकराज गिरी र दीपाश्री निरौलाको सहकार्यबाट चलचित्रको तेस्रो सिरिजको समेत जन्म भइसकेको छ ।

‘६ एकान ६’ र ‘वडा नम्बर ६’ को सफलतापछि दीपक-दीपाले ‘छक्का पञ्जा’ नाममा चलचित्र बनाउन थालेका हुन् । यसको तेस्रो श्रृंखला अर्थात् ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिनबाट देशैभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रको व्यग्र प्रतिक्षा गर्ने अधिकतम पारिवारिक दर्शक छन् ।

‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ गीतले यो चलचित्रको राम्रो हाइप निर्माण गरेको छ । कमेडी भर्सेज कन्टेन्ट ट्रेलरले चलचित्रप्रति दर्शकमा कौतुहलता बढाएको छ । दीपाश्री निरौला निर्देशित चलचित्रमा देशका प्रसिद्ध कलाकारहरुको अभिनय छ । दीपकराजले चलचित्रको कथा लेखेका हुन् ।

यो प्याकेजमा हामी ‘छक्का पञ्जा ३’ चल्ने तीन प्रमुख कारणहरु कोट्याउने प्रयास गर्दैछौं । उक्त चलचित्र चल्ने तीन प्रमुख आधार ब्रान्ड नाम, प्रसिद्ध कलाकारको अभिनय र संवेदनशिल विषय (कथा) हुनसक्छ । आउनुहोस् छोटकरीमा चर्चा गरौं :-

ब्रान्ड नाम

‘छक्का पञ्जा’ आफैंमा एक ब्रान्ड हो । यो नामले प्रदर्शनको सुरुवाती दिनमा हलमा दर्शकको खाँचो हुन दिने छैन । दुई सिरिजमा यो देखिएको कुरा हो । ‘छक्का पञ्जा ३’ मा पनि यो दोहोरिनेमा दुईमत छैन । ब्रान्ड नाम र गीतसंगीतका कारण चलचित्रको इनिसियल बक्सअफिस बम्पर हुने फिल्मी पण्डितहरुको पूर्वअनुमान छ ।

प्रसिद्ध कलाकार

कलाकारका कारण पनि चलचित्रको इनिसियल बक्सअफिसको अंकमा ठूलो अर्थ राख्छ । दर्शकको एक ठूलो वर्ग गिनेचुनेका कलाकार भएका कारण पनि हलसम्म पुग्ने गरेका छन् । केदार घिमिरे, जितु नेपाल, दीपकराज गिरी, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की, बर्षा राउत, संयोग कोइरालालगायतका कलाकारहरुको ‘छक्का पञ्जा ३’ मा अभिनय छ ।

यो सिरिजमा चलचित्र ‘ऐश्वर्य’ बाट सुन्दरता र अभिनयको सर्वाधिक तारिफ बटुलेकी अभिनेत्री दीपिका प्रसाईँ प्रमुख भूमिकामा छिन् । अभिनेत्री द्वय साम्राज्ञी आरएल शाह र जसिता गुरुङले रिजेक्ट गरेपछि उनको भाग्य भाग्य बलेको थियो । मल्टिस्टारर चलचित्र भएका कारण पनि ‘छक्का पञ्जा ३’ बक्सअफिसमा चम्किने धेरैको विश्वास छ ।

संवेदनशिल विषय (कथा)

दर्शक र समीक्षकको एउटा आरोप थियो, ‘छक्का पञ्जा’ जोक्सहरुको भण्डार हो ।’ ‘सिक्न होइन हाँस्न जानुस्’, यसैलाई मुलमन्त्र मानेर ‘छक्का पञ्जा’ का दुई सिरिज बने । तर, तेस्रो श्रृंखलामा टिमले कन्टेन्टमा चुनौती मोलेको छ । हँसाउन मात्र होइन चलचित्रबाट सन्देश दिन खोजिएको छ, जुन ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

जातीय विभेद, विद्यालयमा हुने राजनीति, गरिबी, अशिक्षा र बेरोजगारी जस्तो संवेदनशिल विषयमा चलचित्र बनेको छ । निर्माण टिमका लागि यो कन्टेन्ट विकाउनु ‘फलामको चिउरा चपाउनु’ भन्दा कम हुने छैन । यसअघि हँसाउनकै लागि चलचित्र बनाएकी दीपाश्रीमाथि यसपटक दर्शकलाई सोच्न बाध्य बनाउनु पर्ने चुनौतीको पहाड सामुन्ने छ ।

चलचित्रको मेरुदण्ड अर्थात् कथा दरिलो भएको खण्डमा उक्त कन्टेन्टले चलचित्रको लाइफटाइम कलेक्सनमा ठूलो प्रभाव पार्नेछ । कन्टेन्ट बलियो भएमा चलचित्रको ‘वर्ड अफ माउथ’ राम्रो हुन्छ, जुन चलचित्र चल्ने प्रमुख आधार बन्न सक्छ । यो कन्टेन्ट बिके पैसा कमाउनकै लागि चलचित्र बनाएको आरोपबाट पनि ‘छक्का पञ्जा’ टिम मुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu