बुधबार अर्थात् घटस्थापनाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ३’ मा यसपटक कन्टेन्टमा चुनौती मोलेको निर्देशक दीपाश्री निरौलाले बताएकी छिन् ।
‘यसपटक हामीले इश्युमा काम गरेका छौं । यो हाम्रो लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । यसपाली हाँस्ने मात्र फिल्म बनाएका छैनौं हामीले’ दीपाश्री भन्छिन्, ‘कन्टेन्टमा कमेडी मिसाएका छौं । सधैं हाँसेर मात्र पूर्ण फिल्म हुँदैन ।’
‘छक्का पञ्जा ३’ मा संवेदनशिल कन्टेन्टसँगै आफ्नो जनरा पनि नछोडेको दीपाश्रीको भनाई छ । उनले अब आफूहरु कमेडी चलचित्र मात्र नबनाउने बताइन् । ‘हामी चल्ने र विक्ने चलचित्र बनाउँछौं । अब एउटा पूर्ण चलचित्र बनाउने कोशिश गर्छौं’, उनले भनिन् ।
‘पेशा फेरियो, जात पनि फेरियो, पहिला बेरोजगार थिएँ अहिले रोजगार छ’ चलचित्रमा दलितको भूमिका निर्वाहा गरेका कलाकार केदार घिमिर भन्छन्, ‘यसपटक कन्टेन्टमा छौं । कथाले जति माग्छ त्यो भन्दा बढी केही छैन । मेरो भूमिका दर्शकले फरक पाउनुहुन्छ ।’
हास्यकलाकार जितु नेपालले यसपटक आफूले गम्भीर भूमिका निर्वाहा गरेको बताए । ‘हाँस्न त हाँस्छन् तर मैले यसपाली हसाउनकै खातिर मैले अभिनय गरेको छैनँ’, जितुले भने । उनी चलचित्रमा शिक्षकको भूमिकामा छन् । अभिनेत्री दीपिका प्रसाईँ भने कमेडियनहरुको हुलमुलमा आफू हराउने डर नभएको बताएकी छिन् ।
पहिलो पटक दीपक-दीपा क्याम्पमा भित्रिएकी अभिनेत्री प्रसाईँ भन्छिन्, ‘’ऐश्वर्य’ भन्दा ‘छक्का पञ्जा ३’ मा भूमिका आकाश-जमिनको फरक छ । भूमिका बलियो भएरै काम गरेको हुँ । कसैको कारण छाँयामा पर्छु भन्ने डर छैन ।’ चलचित्रमा उनको जोडी दीपकराज गिरीसँग बाँधिएकोे छ ।