दशैंको छेको पारेर ‘छक्का पञ्जा ३’ ले बुधबार (घटस्थापना) बाट एकल प्रदर्शन सुरु गरेको छ । सर्वाधिक हलमा प्रदर्शनमा आएको यो चलचित्रले मल्टिप्लेक्स हलमा अत्याधिक सोज पाएको छ । सबैभन्दा ठूलो क्युएफएक्स च्यानलमा मात्र फिल्मले ३० सोज हात पारेको छ ।
सोमबार साँझ खुल्ला गरिएको बुकिङमा नै चलचित्रको टिकट सर्वाधिक बिक्री भएको छ । क्युएफएक्सका प्रायः सोज करीब-करीब सोल्डआउटको नजिक छन् । आक्रामक बुकिङ र सर्वाधिक हल पाएका कारण चलचित्रको इनिसियल बक्सअफिस बम्पर हुने पक्का छ । पहिलो दिनको कलेक्सन करोडमाथि हुने अनुमान गरिएको छ ।

चलचित्रको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिन सक्नेछ । सम्भवतः यो वर्ष कमजोर देखिएको फिल्मी बजारलाई ‘छक्का पञ्जा ३’ ले चलायमान बनाउने छ । तेस्रो पटक दीपाश्री निरौलाले चलचित्र निर्देशन गरेकी हुन् ।
पाँचदिने विकेन्ड पाएको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउतलगायतको अभिनय रहेको छ । चलचित्रमा यसपटक गम्भीर विषयवस्तु उठाइएको निर्माण टिमको भनाई छ ।




