दशैंको छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ को इनिसियल बक्सअफिस बम्पर देखिएको छ । वितरक र निर्माताले दिएको जानकारी अनुसार चलचित्रले प्रदर्शनको दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको छ ।
चलचित्रले प्रदर्शनको पहिलो दिन १ करोड ३० लाख र दोस्रो दिन ८० लाख ग्रस कलेक्सन गरेको हो । बिना विदामा चलचित्रले गरेको यो कलेक्सनलाई बम्पर मान्न सकिन्छ । देशभरका अधिकांश सिंगल स्कृनमा वर्चश्व र मल्टिप्लेक्समा सर्वाधिक सोज पाएका कारण चलचित्रको इनिसियल बक्सअफिस बम्पर भएको हो ।

वितरक मनोज राठी भन्छन्, ‘बिना विदामा नेपाली चलचित्रले करोडमाथि कलेक्सन गर्नु सानोतिनो कुरा होइन । हरेक दिन हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको छ ।’ निर्माता तथा कलाकार दीपकराज गिरीले सिंगल स्कृनभन्दा मल्टिप्लेक्समा चलचित्रको कलेक्सन उच्च रहेको बताए ।
उनले भने, ‘फूलपातीबाट लगातार बिदा छ । अहिले सबैलाई घर जाने चटारोले सिंगल स्कृनमा अपेक्षाकृत दर्शक आएका छैनन् । फूलपातीबाट दर्शककोे भीड बढ्छ ।’ उनी चलचित्रको कलेक्सनभन्दा ‘गूड वर्ड अफ माउथ’ बाट खुसी भएको बताउँछन् ।
अब विस्तारै चलचित्रको कलेक्सन मोफसलतर्फ बढ्न थालेको छ । राजधानी बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर हरेक दिन चलचित्रले हाउसफुल दर्शक पाएको वितरक कम्पनी एफडीले जानकारी दिएको छ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।
चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।




