‘जय भोले’ इन्टरटेनिङ छ : अशोक शर्मा



बाह्र बर्षपछि बगेको खोला समेत फर्केर आउने दन्तेकथालाई सार्थक तुल्याउँदै निर्देशक अशोक शर्मा बाह्र बर्षपछि चलचित्र निर्माण र निर्देशनमा फर्किएका छन् । उनको नयाँ चलचित्र ‘जय भोले’ दशैंको छेको पारेर फूलपातीदेखि देशैभर प्रदर्शनमा आउँदैछ ।

२०५९ सालमा चलचित्र ‘मितिनी’ निर्माण गरेपछि एकल निर्माताको रुपमा नआएका उनले आफ्नो चलचित्र वितरण कम्पनी डिसिएनलाई स्थापित गर्न बाह्र वर्षसम्म चलचित्र निर्माण र निर्देशनबाट टाढा रहेको बताएका छन् । ‘बाह्र वर्षपछि खोला फर्किन्छ भन्छन् । म पनि बाह्र वर्षपछि फर्किएको छु’, पत्रकारसँग गफिँदै उनले भने ।

उनी ४ वर्ष अगाडि नै निर्देशनमा फर्किने सोचमा थिए । तर, चित्तबुझ्दो कथा नपाएपछि उनले हतार गर्न चाहेनन् । ‘जब मैले ‘पशुपति प्रसाद’ हेरेँ तब मेरो दिमागमा बत्ति बल्यो’ उनले भने, ‘खगेन्द्र लामिछानेको स्क्रिप्ट र अभिनय उत्कृष्ट लागेको थियो । र, उसैलाई लिएर चलचित्र बनाउने इच्छा जाग्यो ।’

‘पशुपति प्रसाद’ का निर्देशक दीपेन्द्र के. खनालसँग सम्पर्क नम्बर मागेर उनले खगेन्द्रसँग भेटका लागि आग्रह गरे । पहिलो भेट मण्डला थिएटरमा नाटक हेरेपछि भएको उनी सम्झन्छन् । ‘डिसिएनमा भएको दोस्रो भेटमा मैले उसलाई चलचित्र निर्देशनमा फर्किँन लागेको र सँगै काम गर्ने इच्छा रहेको बताएँ । उसले दुईवटा स्क्रिप्ट देखायो । त्यसमध्ये एउटा स्क्रिप्टलाई अगाडि बढाउने निधो गर्‍यौं’, उनले भने ।

स्क्रिप्ट फाइनल गर्ने क्रममा खगेन्द्रसँग ठूलो डिभेड भएको पनि निर्धक्क बताउँछन् अशोक । ‘कथावस्तुलाई दमदार बनाउन लेखक र निर्देशकमा डिभेड हुनु ठूलो कुरा होइन, यसले स्क्रिप्ट झन् बुलन्द हुन्छ’ उनी प्रशंग मोड्दै भन्छन्, ‘म कमर्शियल चलचित्र बनाउने मान्छे । खगेन्द्र रियालिस्टिक चलचित्र गर्दै आइरहेको छ । दुईको कम्बिनेसनले एउटा उत्कृष्ट चलचित्र आउन सक्छ भन्ने मेरो सोच थियो ।’

चलचित्रमा इन्टरटेन्मेन्ट नभए संसारमा कुनै पनि चलचित्र नचल्ने तर्क उनको छ । भन्छन्, ‘इन्टरटेन्मेन्ट भएन भने मास अडियन्समा चलचित्र जानै सक्दैन । यही कारण ठोस विषयवस्तुलाई इन्टरटेनिङ तरिकाले बनायौ भने सबै वर्गका दर्शक बाँधिन सक्छन् भन्ने मैले निर्देशनमा फर्किनुभन्दा अगाडि नै सोचेको थिएँ । यो कुरालाई ध्यानमा राखेर ‘जय भोले’ बनाएका छौं ।’

निर्देशक शर्माले ट्रेलरमा राखिएको दृश्य चलचित्रको दश मिनेट मात्र रहेको बताउँछन् । उनी अगाडि भन्छन्, ‘चलचित्रमा धेरै गुदी छ । गम्भीर पनि छ चलचित्र । हँसाउन पनि सक्दो हँसाउँछ । एउटा पूर्ण चलचित्र बनेको छ ।’ उनले कमेडी जनराका चलचित्रको बोलबाल रहेको अवस्थामा त्यही ट्रेन्डलाई फलो गर्न चलचित्र नबनाएको बताए ।

आफूले निर्देशन गरेका दशक अगाडिका चलचित्र सम्झँदै उनी भन्छन्, ‘ट्रक डाइभर’ देखि ‘मितिनी’ सम्म हेर्ने हो भने मेरो चलचित्रमा कमेडीको एकदमै महत्वपूर्ण पाटो हुन्छ । जोक भनेर म हँसाउन चाहँदिनँ । सिच्वेसनले हाँसुन् भन्ने मेरो कोशिश हुन्छ । कमेडी छुट्टै चाहिँ हुँदैन, त्यो कमेडी सिच्वेसनसँग लिंक हुन्छ र त्यो लिंक कथासँग रिफ्लेक्ट हुन्छ । ‘जय भोले’ मा पनि त्यो भेटिन्छ ।’

पहिला कमेडी गर्नका लागि कमेडियनहरु नै भएपनि ‘जय भोले’ मा लिड कलाकारहरुले नै हँसाउने उनले बताए । खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का र राजाराम पौडेलको वरिपरि चलचित्र घुमेको जानकारी दिँदै निर्देशक शर्मा भन्छन्, ‘चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन दिन्छ । यसको म ग्यारेन्टी दिन्छु ।’ अब चलचित्र निर्माण र निर्देशनलाई पनि निरन्तरता दिने उनको सोच छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu