दशैंको छेको पारेर मंगलबारदेखि प्रतिक्षीत चलचित्र ‘जय भोले’ को अग्रिम बुकिङ खुल्ला गरिएको छ । चलचित्रले मल्टिप्लेक्समा गतिलै सोज हात पारेको छ ।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले राजधानीमा सञ्चालित आफ्ना ५ वटा हलबाट चलचित्रलाई प्रदर्शनको पहिलो दिन कुल २४ सोज उपलब्ध गराएको छ । प्रदर्शनको दोस्रो दिन अर्थात् बुधबार पनि चलचित्रलाई पहिलो दिनकै संख्यामा सोज प्राप्त छ ।

यस्तै, क्यूएफएक्सको चितवनमा रहेको जलमा चलचित्रले ६ सोज, पोखराको सिनेप्लेक्समा ५ सोज र नेपालगञ्जको बाग्गेश्वरीमा पनि ५ सोज पाएको छ । ‘छक्का पञ्जा ३’ को धङधङीका बीच पनि चलचित्रले क्यूएफएक्सको च्यानलमा मात्रै ४० सोज पाउनु राम्रो हो । यो संख्यामा हलिउड र बलिउडका सुपरस्टारका चलचित्रले मात्र सोज पाउँदै आएका थिए ।
चलचित्रले राजधानीका अन्य मल्टिप्लेक्स क्यूज, बिग, एफक्यूब, सिने डी सेफ, विएसआरमा पनि उच्च सोज पाएको छ । निर्माण पक्षले रिलिजसँगै चलचित्रले सोज बढाउँदै लग्ने विश्वास राखेको छ । ‘छक्का पञ्जा ३’ को वर्चश्वबीच पनि चलचित्रले मंगलबार सिंगल स्कृन ७० भन्दा बढी पाउने निर्माण टिमबाट जानकारी प्राप्त छ ।
यो चलचित्रले दुई साथीबीचको आत्मीयता र प्रेमको कथा भन्छ । यसलाई बाह्र वर्षपछि कमब्याक गरेका अशोक शर्माले निर्देशन गरेका हुन् । यसअघि उनले ‘ट्रक ड्राइभर’, ‘अल्लारे’, ‘गरीब’ लगायतका १० चलचित्र निर्देशन गरिसकेका छन् । बाह्र वर्षपछि निर्देशनमा फर्किएका कारण पनि ‘जय भोले’ दर्शकमाझ प्रतिक्षीत छ ।
यस चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा उनी प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ ।




