काठमाण्डौ। यतिबेला हरेकलाई दशैंको रौनकले छोएको छ । चाहे सर्वसाधारण हुन् वा विशिष्ट व्यक्ति नै किन नहुन, दशैंको रमझमले कसैलाई छाडेको छैन । दशैं मनाउन सर्वसाधारण मात्र होइन देशका चर्चित कलाकारहरु पनि गाँउ-घर जाने क्रम बढ्दो छ । यही भिडका एक हुन् अभिनेता पुष्पल खड्का ।
उनी वर्ष वर्षको दशैं जन्मथलो कैलालीमा मनाउँदैछन् । आइतबार मात्र उनी जन्मथलो हिँडेका हुन् । उनलाई दशैं निकै मनपर्ने चाड रहेछ । उनी भन्छन्, ‘दशैं भनेपछि मन त्यसै फुरुङ्ग हुन्छ । सबै तनाब भुलेर केही दिन रमाउन पाइन्छ । ठूलाबडाबाट आर्शिवाद थाप्न पाइन्छ ।’
८ कक्षामा पढ्दा हजुरबुबाले टिका लगाएपछि लुकाएर सबैभन्दा धेरै दक्षिणा दिएको उनले विर्सिएका रहेनछन् । बाल्यकालमा दक्षिणा पाउँदाको अनुभव सुनाउँदै पुष्पल भन्छन्, ‘सानोमा आर्शिवाद भन्दा पनि दक्षिणा औधि प्यारो हुन्थो । हजुरबुबाले लुकाएर मलाई पाँच सय दिनुभएको थियो । त्योभन्दा अगाडि मैले कहिल्यै त्यति दक्षिणा पाएको थिइनँ ।’
अहिले भने दक्षिणा भन्दा आर्शिवादको लोभी भएको उनले बताए । मांसाहारी भएपनि पुष्पल दशैंमा दिइने बलिप्रथाको भने विरोधी हुन् । उनी भन्छन्, ‘बलिप्रथा राम्रो होइन । तर, बर्षौदेखि चल्दै आएको परम्परा तत्काल हट्नेवाला पनि छैन ।’ उनी विभर्स तरिकाले बलि नदिन भने आग्रह गर्छन् ।
हरेक वर्ष राम्रो कलाकार बन्नका लागि माता नवदुर्गासँग दशैंको आर्शिवादको रुपमा माग्ने गरेको उनले बताए । ‘मैले फिल्मभन्दा अरु सोचेको छैन र सोच्न पनि सक्दिनँ’ उनले भने, ‘म हरेक वर्ष माता नवदुर्गासँग आफ्नो लागि राम्रो कलाकार बन्न पाउँ भन्ने आर्शिवाद माग्दै आएको छु । र, सधैं माग्नेछु ।’