फूलपातीबाट प्रदर्शन आरम्भ गरेको मल्टिस्टारर चलचित्र ‘जय भोले’ ले प्रदर्शनको एक हप्तामा लगानी सुरक्षित गरेको छ । १ करोड ३५ लाख निर्माण लागत रहेको चलचित्रले प्रदर्शनको एक हप्तामा तीन करोडमाथिको कलेक्सन गरेको छ ।
निर्माता तथा निर्देशक अशोक शर्माका अनुसार, प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर चलचित्र नाफाको बाटोमा हिँडेको छ । उनी भन्छिन्, ‘बाह्र वर्षपछि निर्माण र निर्देशनमा फर्किएको हुँ । मेरो लागि यो चलचित्रको व्यापारिक नतिजाले धेरै ठूलो अर्थ बोक्छ । अब ढुक्क भएँ ।’
प्रदर्शनको एक हप्तामा चलचित्रले ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँको कमाई गरेको निर्देशक शर्माबाट रिपोर्ट प्राप्त छ । दशैंलाई लक्षित गरेर हल छिरेको यो चलचित्रलाई एक हप्ता अगाडि प्रदर्शनमा आएको ‘छक्का पञ्जा’ को तेस्रो सिक्वेल ठूलो चुनौती थियो ।
चलचित्रले घरेलु बजारमा सुखद व्यापार गरिरहँदा निर्देशक शर्माले अर्को बर्षको दशैंमा नयाँ चलचित्र लिएर आउने घोषणा गरिसकेका छन् । चलचित्रको नाम ‘रातो टिका निधारमा’ जुराइएको छ । कलाकारको भने टुंगो नलागेको उनी बताउँछन् । चलचित्रलाई उनी स्वयमले निर्देशन गर्नेछन् ।
दोस्रो सातामा प्रदर्शन आरम्भ गरेको ‘जय भोले’ मा निर्देशक शर्मासँगै खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको कथा खगेन्द्र स्वयमले लेखेका हुन् । चलचित्रले दुई साथी अर्थात् जय र भोलेको कथा वाचन गरेको छ ।