उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्माण भएको चलचित्र ‘बोबी’ टिमले एक जोडीलाई नर्वे घुमाउने भएको छ । गएको असार २९ गते प्रदर्शनमा आएको चलचित्रको टिमले रिलिज अगाडि ‘बोबी हेरौं नर्वे घुमौं’ स्किम ल्याएको थियो ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सिनेमा घरमा राखिएको बक्समा खसालिएको चलचित्रको टिकट मध्येबाट एक भाग्यमानीको नाम घोषणा गरिएको छ । हजार बढी टिकटबाट विर्तामोड, झापाका राजेश लिम्बु विजेता बनेका छन् । उनले आफूसँग श्रीमतीलाई पनि नर्वे घुमाउने अवसर पाएका छन् ।

पत्रकार सम्मेलनमा नै निर्माण टिमले फोन गरेर राजेशलाई बधाई दिएको छ । भागी विवाह गरेका विजेता लिम्बुले फोनमा नर्वे घुम्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । हालसम्म कुनै विदेश भ्रमण नगरेका उनले चलचित्रको टिमलाई पनि धन्यवाद दिएका छन् । उनी नर्वेमा बोबी जोडी उमेश र कविताको घरमा बस्नेछन् ।
निर्देशक तथा निर्माता मिलन चाम्सले अब विजेता राजेशलाई नर्वे लैजाने सबै प्रक्रिया सुरु हुने बताए । विजेता घोषणा कार्यक्रममा सहभागी हुनका लागि कविता नर्वेबाट केही दिन अगाडि मात्र नेपाल ओर्लिएकी थिइन् । उमेश भने काम विशेषले नेपाल आउन नसकेको कविताले बताइन् ।
उमेर र कविताको वास्तविक प्रेमकथामा निर्माण भएको चलचित्रले घरेलु बजारमा सुखद व्यापार गरेको थियो । अहिले यो चलचित्रको विदेशमा चर्को डिमान्ड छ । हालै यूके प्रदर्शनमा ‘बोबी’ ले १७ लाख कमाई गर्दै रेकर्ड बनाएको छ । चलचित्रमा रियल जोडीकै अभिनय छ ।




