टेम्पो ड्राइभरको भूमिकामा रहेकी अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘बुलबुल’ को पहिलो गीत ‘फ्ल्यास मोब’ शैलीमा सार्वजनिक गरिने भएको छ । यो शैलीमा भीडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्नेछन् ।
‘खुदाखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गरिन लागेको हो । चलचित्रको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिने छ ।
१५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जानकारी दिए । काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा र नायक मुकुन भुसालले पनि ठुम्का लगाउनेछन् ।
भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र सय जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।
चलचित्रका निर्देशक विनोद पौडेलले ‘बुलबुल’ ले स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने उनी स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् ।
चलचित्रमा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्र फागुन ३ मा रिलिज हुँदैछ ।