‘गोजीमा दाम छैन’ लाई डेढ करोड, संगीतकारलाई निर्माताले दिए ५० हजार



कात्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र चङ्गा चेटको ‘गोजीमा दाम छैन’ गीत यतिबेला निकै लोकप्रिय छ । यूट्युबमा मात्र गीतमाथि डेढ करोडको नजर परेको छ । निर्माण टिमले यसलाई ठूलो सफलताको रुपमा हेरेको छ । गीतलाई यूट्युबमा १ करोड ५० लाख पटक हेरिएको अवसरमा निर्माण टिमले केक काटेर खुसीयाली साटेको छ ।

राजधानीमा एक कार्यक्रमका बीच संगीतकार, गीतकार, निर्देशक, निर्माता तथा कलाकारले संयूक्त रुपमा डेढ करोडको केक काटे । केक काट्दै निर्माता माधव वाग्लेले भने, ‘चलचित्रले पनि गोजीमा दाम भरोस् ।’ ‘गोजीमा दाम छैन’ गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर छ ।

गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । केक काटेर सेलिब्रेसन गर्दै निर्माता वाग्लेले संगीतकारलाई ५० हजारको चेक हस्तान्तरण गरे । ‘यो पारिश्रमिक होइन । मैले उहाँलाई गीतले करोड भ्यूज कमायो भने उपहार दिन्छु भनेर वचन दिएको थिएँ । यो त्यही उपहार हो,’ उनले भने ।

उक्त रकमबाट ५ प्रतिशत गीतकार तिमल्सिनालाई दिने पनि संगीतकार सिवाकोटीले मिडियामाझ नै घोषणा गरे । निर्देशक दीपेन्द्र के. खनालले दाम हुने र नहुनेहरुको कथा चलचित्रले बोल्ने बताए । उनी भन्छन्, ‘गीतले बोलेकै कथा चलचित्रले उठाएको छ । तीन पुरुष पात्रको वरिपरि चलचित्र घुमेको छ ।’ उनी चलचित्रलाई डार्क कमेडी भन्न रुचाउँछन् ।

निर्माता वाग्ले भने ‘चङ्गा चेट’ आफ्नो वास्तविक जीवनसँग मिल्ने बताउँछन् । भन्छन्, ‘चलचित्रमा जाली नोट देखाइएको छ । म पनि जाली नोटकै कारण जेल जानु पर्‍यो । चलचित्रको कथा जस्तै छ मेरो जिन्दगी ।’ गीतको सफलताको खुसीयाली साट्न उपस्थित अभिनेत्री द्वय सुरक्षा पन्त र परमिता आरएल राणाले चलचित्रले युवापुस्ताको वास्तविक कथा बोल्ने बताए ।

चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रमा माधव वाग्लेलाई शर्मिला पाण्डेले लगानीमा सहयोग गरेकी छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu