मिलन चाम्सको निर्माण र निर्देशनमा चलचित्र ‘वीर विक्रम २’ निर्माण हुने भएको छ । फरक कथामा निर्माण हुने बताइएको चलचित्रको बिहीवार राजधानीका एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा लिड कलाकारलाई ब्यान्डबाजासहित ईन्ट्री गराइएको थियो ।
पहिलो भागमा दयाहाङ राई, अनुप विक्रम शाही, नाजिर हुसेन, अर्पण थापा, दीया पुन प्रमुख भूमिकामा थिए । दोस्रो भागमा नाजिर दोहोरिए पनि बाँकी कलाकार परिवर्तन भएका छन् । चलचित्रमा नाजिरसँगै आकाश श्रेष्ठ, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकारमा मनिष लिम्बु छन् ।
चलचित्रमा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहने निर्देशक चाम्सले जानकारी दिए । ‘‘वीर विक्रम’ मा दोस्तीयारीको कथा थियो । यस्तै भिन्न प्रकारको दोस्तीयारीको कथा हो ‘वीर विक्रम २’’, उनले भने । बाग बहादुर थकालीको चरित्र निभाउन लागेका बुद्दि चलचित्रमा भिलेनको भूमिका देखिनेछन् ।
अर्पण सापकोटा सह-निर्माता रहेको चलचित्रलाई निर्देशक चाम्स आफैंले निर्माण गर्नेछन् । चलचित्रको कथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत रहने चलचित्रमा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
कात्तिक अन्तिम साताबाट फ्लोरमा जाने तयारी भइरहेको चलचित्र २०७६ को नयाँ वर्षमा रिलिज गर्ने निर्माण टिमको सोच छ । अभिनेता आकाशले आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्ने बताए । अर्का अभिनेता नाजिरको कुरा पनि यही छ । अभिनेत्री बर्षा हिट चलचित्रको दोस्रो भागमा काम गर्न पाउँदा खुसी महशुस भएको बताउँछिन् ।