तीन सातादेखि ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ को कब्जामा रहेको हलमा शुक्रवारबाट दुई नयाँ चलचित्र ‘चङ्गा चेट’ र ‘मालिका’ ले आफ्नो उपस्थिति जनाएका छन् । ‘चङ्गा चेट’ लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने ‘मालिका’ रेखा थापा निर्देशित चलचित्र हो ।
माधव वाग्ले र शर्मिला पाण्डे निर्मित चलचित्रमा ‘चङ्गा चेट’ मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको गोजीमा दाम छैन गीत निकै लोकप्रिय छ ।

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निरक कँडेलको छायांकन रहेको चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको चलचित्रमा सूर्य ठोकरको द्वन्द्व छ ।
‘मालिका’ भने यसपटक रेखाले कमला वलीको कथाको भार सुम्पिएकी छिन् । चलचित्रमा उनको पनि अभिनय छ । चलचित्रले महिला सशक्तिकरणको मुद्धा उठाएको छ । बलात्कार, घरेलु हिंसा, बेचविखन, दाइजो प्रथामा चलचित्र बनेको हो ।






