अर्जुनको गीत सुनेर सनी भन्छिन्, ‘उत्साहित छु’



बलिउड अभिनेत्री सनी लियोनी पहिलो पटक नेपाली चलचित्रमा काम गर्दैछिन् । ‘पासवर्ड’ चलचित्रको एक आइटम गीतमा उनले ठुम्का लगाउँदैछिन् । गीतका लागि मात्र उनले २ करोड बुझेको खबर छ । शुक्रवार उनले आफ्नो आधिकारिक ट्विटरमा एक स्टाटस नै लेखेर नेपाली चलचित्र खेल्न लागेको औपचारिक जानकारी दिइन् ।

उनले आफ्नो स्टाटसमा ‘नेपाली चलचित्र’ उल्लेख गर्दै ‘’बहुप्रतिक्षीत चलचित्र ‘पासवर्ड’’ लेखेकी छन् । उनले चलचित्रको डान्स नम्बर सुनेर उत्साहित भएको पनि बताएकी छन् । उनको उक्त स्टाटस अहिले नेपाली सञ्चारमाध्यममा राम्रो मसला बनेको छ । विश्वले चिनेको अभिनेत्रीले नेपाली फिल्ममा काम गर्न लागेको र गीत सुनेर उत्साहित भएको बताउनु पनि ठूलो कुरा हो ।

सनीले ठुम्का लगाउन लागेको गीत चर्चित संगीतकार अर्जुन पोखरेलले तयार पारेका हुन् । अर्जुनको संगीत रहेको गीतमा शब्द विक्रम जोशीको रहेको छ । स्वर दुर्गा खरेलले दिएकी छन् । संगीत संयोजना महाराज थापाले गरेका हुन् । सनीले उत्साहित हुँदै झन्डै ४ करोड फलोअर्स रहेको ट्विटरमा ट्विट गर्नुले संगीतकार पोखरेललाई संसार जिते सरहको खुसी दिएको छ ।


उनका अनुसार, निर्माण टिमलाई ६० प्रतिशत मात्र सकिएको गीतको ‘रअ’ फाइल पठाएका हुन् । सनीले ‘रअ’ फाइल सुनेरै ट्विट गरेकी हुन् । सम्राट बस्नेतको निर्देशन रहने चलचित्रमा विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, विक्रान्त बस्नेत र मुख्य भिलेनको रोलमा अनुपविक्रम शाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu