माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमलीला’ ले ‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजना गरेको छ । कपाल मुन्डन गर्दाको अनुभव सबैसँग साट्न ‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजना गरिएको निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्काले बताइन् ।
उनले उक्त चलचित्रका लागि आफ्नो लोभलाग्दो कपाल मुन्डन गरेकी छन् । प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि चलचित्रको अफिसियल फेसबुक पेज ‘प्रेमलीला’ मा लाइक्स गरि आफ्नो कन्ट्याक्ट डिटेल्ससहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ ।
प्राप्त फोटो मध्येबाट उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइने अभिनेत्री खड्काले बताइन् । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई पचास हजार, दोस्रो हुनेलाई पच्चिस हजार र तेस्रो हुनेलाई नगद दश हजार प्रदान गरिनेछ ।
खड्काकै कथा रहेको चलचित्रले नेपालीकी एक युवती र भारतका एक युवकबीचको प्रेमकथा भन्छ । चलचित्रमा खड्कासँगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली चलचित्र हो । चलचित्रमा निर्देशन जनक पाण्डेको रहेको छ ।
छायांकन पवन गौतमले गरेका हुन् । चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । सुरज तमु, रेखा शाह, शर्मिला शर्मालगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।