बलिउड सुपरस्टार आमिर खान र अमिताभ बच्चन अभिनीत चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को कमजोर प्रतिक्रियाले नेपाली चलचित्र ‘चङ्गा चेट’ लाई ठूलो फाइदा भएको छ । अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र हेर्ने दर्शक विस्तारै बढ्न थालेका छन् । ‘ठग्स’ का दर्शक समेत उक्त चलचित्रले तान्न थालेको छ ।
‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको डार्क कमेडी चलचित्र हेर्ने दर्शकको संख्या दोस्रो साताबाट वृद्धि हुन थालेको हल सञ्चालकले बताएका छन् । गएको शुक्रवार र शनिबार चलचित्र देशभर हाउसफुल रहेको निर्देशक खनाल बताउँछन् । आइतबारबाट पनि दर्शक राम्रो रहेको उनले बताए । ‘राम्रो चलचित्र बनाए नेपाली फिल्म चल्ने रहेछ’, उनी खुसी हुँदै भन्छन् ।
दोस्रो सातामा ‘ठग्स अफ हिन्दोस्तान’ का कारण मल्टिप्लेक्समा चलचित्रको सोजमा ठूलो गिरावट आएको थियो । तर, ‘ठग्स’ को नकारात्मक प्रतिक्रियाले ‘चङ्गा चेट’ को सोजमा वृद्धि हुन थालेको छ भने दर्शकको पहिलोे रोजाई बन्न थालेको छ । सिंगल स्कृनमा पनि चलचित्रले कब्जा जमाउन थालेको वितरक बताउँछन् । चलचित्रले एक हप्तामा डेढ करोड ग्रस कलेक्सन गरेको खबर प्राप्त छ ।
दाम हुनेहरुको रवाफ र नहुनेहरुको संघर्षको कथा वाचन गरेको चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, परमिता आरएल राणा, सुरक्षा पन्त, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय रहेको छ ।