अभिनेता आकाश श्रेष्ठले निर्देशक मिलन चाम्सको चलचित्र ‘वीरविक्रम २’ छाडेका छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै चलचित्र छाडेको जानकारी दिएका हुन् । ‘वीरविक्रम २’ छाड्नुको कारण उनले हजुरबुबा विरामी भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘हजुरबुबा विरामी हुँदा उहाँको उपचारमा समय लाग्ने भएपछि चलचित्रलाई समय दिन नसक्ने भएको छु । मिलन दाईसँग काम गर्न पाउनु मेरो ठूलो सौभाग्य थियो र खुसी थिएँ तर यो टिमलाई साथ दिन सकिनँ ।’
उनले फिल्ममा आफू आबद्ध नभएपनि ‘वीरविक्रम २’ लाई सफलताको शुभकामना दिएका छन् । उनले भविष्यमा निर्देशक चाम्ससँग काम गर्ने चाहना रहेको पनि बताएका छन् । आकाशले चलचित्र छाडेसँगै उनको ठाउँमा अभिनेता पल शाह भित्रिएका छन् । सोमवारमात्र निर्माण टिम र पलबीच कागजी सम्झौता भएको हो ।
अब उनी चलचित्रमा वीरको भूमिकामा हुनेछन् । चलचित्रमा नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदीलगायतका कलाकारहरु भने यथावत छन् । पलले अभिनेत्री बर्षासँग रोमान्स गर्नेछन् । चलचित्रलाई मिलन चाम्सले निर्माण र निर्देशन गर्दैछन् ।
अर्पण सापकोटा सह-निर्माता रहेको चलचित्रको कथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत रहने चलचित्रमा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।