हरिवंशको जन्मदिनमा ‘दाल भात तरकारी’ को मुहूर्त



बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको जन्मदिनको अवसरमा चलचित्र ‘दाल भात तरकारी’ को शुभ मुहूर्त गरिएको छ । मंसिर १ गतेबाट फ्लोरमा जाने चलचित्रको मंगलवार कमलादीको गणेस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको हो ।

अभिनेत्री आँचल शर्मा र अभिनेता पुष्पल खड्काले कार्यक्रममा मुहूर्त सट दिएका थिए । ज्योतिषले दिएको समय अनुसार बिहान ८ः३१ बजे चलचित्रको मुहूर्त गरिएको थियो । सुदन केसीले निर्देशन गर्ने चलचित्र मह संचारको ब्यानरमा निर्माण हुन लागेको हो ।


किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन करीब २ महिना हुने निर्देशक केसीले बताए । चलचित्रमा पुष्पल र आँचलका अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउतलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्री सिंह चलचित्रका लागि बुधवार नेपाल ओर्लिदैछिन् ।

चलचित्रले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने चलचित्रका गीत हरिवंश आफैंले लेखेका छन् ।

चलचित्रमा पुष्पलको जोडी आँचलसँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहनेछ ।


निर्माता केसीले ‘शत्रु गते’ मा भएका कमी कमजोरी ‘दाल भात तरकारी’ मा नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे । अभिनेता पुष्पलले देशका मुर्धन्य व्यक्तित्व आबद्ध चलचित्रमा आफू जोडिन पाउनु सौभाग्यको कुरा रहेको बताए । उनले ‘मंगलम’ भन्दा ‘दाल भात तरकारी’ मा फरक भूमिका रहेको पनि बताए । अभिनेत्री आँचल भने दोस्रो पटक एउटै टिमसँग सहकार्य गर्न पाउँदा दंग देखिन्थिन् ।

मित्र डि गुरुङको सम्पादन रहने चलचित्रलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेललगायत निर्मातामा छन् । चलचित्रको मुहूर्त पश्चात् रेडियो अडियोको आँगनमा कलाकार हरिवंश आचार्यको बर्थडे सेलिव्रेसन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu