हरिवंशसँग जोडी बाँधिदा उत्साहित निरुता



‘नाई नभन्नू ल ५’ बाट नेपाली चलचित्रमा कमब्याक गरेकी अभिनेत्री निरुता सिंह अब मह जोडीको नयाँ चलचित्र ‘दाल भात तरकारी’ मा देखिँदैछिन् । यो चलचित्रका लागि उनी बुधबार मात्र मुम्बईबाट नेपाल ओर्लिएकी छन् । यसमा उनको जोडी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यसँग बाँधिएको छ ।

करीब २ महिना नेपाल बस्ने उनले देशका मुर्धन्य व्यक्ति आबद्ध चलचित्रमा आफू जोडिन पाउनु भाग्यको कुरा रहेको बताउँछिन् । उनले यसअघि उक्त टिमसँग ‘तँ त साह्रै विग्रिस् नी बद्री’ चलचित्र गर्न नपाएको पनि सम्झिइन् ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न कलाकार किरण केसी र उनका छोरा सुदन केसी बुकेट बोकेर पुगेका थिए । एक घण्टा ढिलो नेपाल ओर्लिएकी उनले विमानस्थलबाट बाहिरिँदै गर्दा नेपाली भूमी छुँदै भनिन्, ‘नेपाली भूमी टेकेपछि म सबैभन्दा बढी खुसी हुन्छु ।’


उनी केहीबेर सञ्चारकर्मीसँग पनि गफिइन् । उनले ‘दाल भात तरकारी’ मा आबद्ध हुन पाएको खुसी व्यक्त गर्दै भनिन्, ‘हरिदाई, मदनदाई, किरणदाईको म मात्र होइन मेरो परिवार नै फ्यान हो । उहाँहरुसँग काम गर्न पाउँदैछु मेरो एउटा सपना पूरा भयो ।’ उनले हरिवंश आचार्यको जोडी बन्न पाउँदा उत्साहित भएको बताइन् ।

उनको छेवैमा रहेका कलाकार केसीले निरुताको भूमिका चलचित्रमा बलियो रहेको बताए । ‘सुरुवातदेखि अन्त्यसम्म हरिवंश र निरुताको जोडी टुट्दैन । चलचित्रको मेजर रोलमा नै उहाँहरु हुनुहुन्छ’, उनले भने । चलचित्रमा निरुताले एक गीतमा नृत्य गर्ने पनि उनले खुलाए । उनी भने धेरैपछि फिल्ममा नृत्य गर्न पाउँदा खुसी देखिन्थिन् ।

‘मलाई राम्रो नाच्न त आउँदैन तर नाच्न भनेपछि रमाइलो लाग्छ’, निरुताले सुनाइन् । दर्शकको चाहना अनुसार आफू ‘दाल भात तरकारी’ मार्फत प्रमुख भूमिकामा देखिन लागेको पनि उनी बताउँछिन् । निर्माता तथा कलाकार किरणले चलचित्रमा निरुताको रोनाधोना नहुने बताए । ‘एकदमै रमाइलो भूमिका छ’ उनी अगाडि भन्छन्, ‘अहिलेसम्मकै फरक भूमिकामा उहाँलाई दर्शकले देख्न पाउनेछन् ।’

निरुता भने आफू जुन भूमिकामा प्रस्तुत भएपनि दर्शकले रुचाएको बताउँदै ‘दाल भात तरकारी’ मा निर्वाह गर्न लागेको भूमिका पनि मन पर्नेमा विश्वस्त सुनिइन् । उनी आगामी दिनमा राम्रो चलचित्रबाट अफर आए अभिनयलाई साथ लैजाने वाचा गर्छिन् । कुरालाई विट मार्दै उनी भन्छिन्, ‘म कलाकार हुँ, मेरो कर्म अभिनय गर्नु हो । राम्रो चलचित्र आए अवश्य गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu