‘दैलो’ र ‘गुनगुन’ का निर्माता भन्छन्, ‘दर्शकले रुचाए’



शुक्रवारबाट प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘दैलो’ र ‘गुनगुन’ ले दर्शकको राम्रो साथ पाएको निर्माताले बताएका छन् । दुबै फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको जानकारी प्राप्त छ । शुक्रवार औसत रहेपनि शनिबार दुबै चलचित्रको व्यापार केही माथि देखिएको छ ।

निर्देशक, कलाकार तथा निर्माता सुरेश उप्रेतीले ‘दैलो’ को ‘वर्ड अफ माउथ’ राम्रो रहेको बताए । उनी भन्छन्, ‘शनिबार चलचित्रले देशभर सुखद व्यापार गरेको छ । सकारात्मक प्रतिक्रिया पाएका कारण आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त छौं ।’ राजधानीसँगै उपत्यका बाहिर पनि चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको उनले बताए ।


चलचित्रमा उनका अलावा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेती चलचित्र निर्माण गरेका हुन् । यस्तै, ‘गुनगुन’ ले दर्शकको अपेक्षालाई पूर्ण गरेको निर्देशक, कलाकार तथा निर्माता पुकार भट्टराई बताउँछन् ।

उनी चलचित्रको सुखद प्रदर्शनलाई लिएर उत्साहित देखिए । भन्छन्, ‘परिक्षामा सफल भइएला वा असफल भन्ने डर थियो । दर्शकले चलचित्र रुचाइदिनु भएको छ । व्यापार पनि राम्रो छ ।’ चलचित्रको कन्टेन्टलाई दर्शकले रुचाएको उनको भनाई छ । ‘आइतबारबाट दर्शक बढ्नेमा ढुक्क छौं’, उनले थपे ।

चलचित्रमा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, पुकार भट्टराई, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय छ । त्रिकोणात्मक प्रेमकथा वाचन गरेको चलचित्र ‘गुनगुन’ मा अभिनेत्री सञ्चिता टाइटल क्यारेक्टरमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu