विपिन तीन सातापछि ‘जात्रै जात्रा’ को सुटिङमा फर्किने



हिट चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ पूर्वनिर्धारित मितिमा नै प्रदर्र्शनमा आउने भएको छ । अभिनेता विपिन कार्कीको दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि चलचित्र ‘जात्रै जात्रा’ फागुन १७ मा नआउने चर्चा थियो । यो मितिमा अनमोल केसीको ‘क्याप्टेन’ पनि प्रदर्शन हुँदैछ ।

प्रमुख अभिनेताको दुर्घटनापछि निर्माता मध्येका रविन्द्र सिंह बानियाँ चलचित्रको रिलिज पोस्टपोन्ड गर्ने अन्तिम तयारीमा थिए । तर, चिकित्सकले तीन सातापछि सुटिङ ज्वाइन गर्न सक्ने सल्लाह दिएपछि अब चलचित्र पूर्वनिर्धारित मितिमा नै प्रदर्शनमा आउने भएको छ । अहिले अभिनेता कार्की ‘बेड रेस्ट’ मा छन् ।


निर्माता बानियाँले विपिनको दुर्घटनापछि रिलिज पोस्टपोन्ड गर्ने सोच बनाएपनि अब फागुन १७ मै आउने जानकारी दिए । ‘एक/दुई दिनमा नै सुटिङ सुरु गर्दैछौं । तीन हप्ता अगाडिसम्म दयाहाङ राईलगायतका कलाकारको सिन सक्छौं । त्यसपछि विपिनको गर्ने तयारी छ’, उनले भने ।

अभिनेता विपिनको दुर्घटनापछि चलचित्रको छायांकन प्रभावित भएको थियो । निर्माता बानियाँले क्लाइमेक्स फाइट भने तत्काल सुट नगर्ने बताए । भन्छन्, ‘गाह्रो सिनहरु त लगभग सकिएको छ । क्लाइमेक्स फाइट पनि त्यस्तो हेवी त होइन तर त्यो तत्काल गर्दैनौं ।’ यसका निर्देशक प्रदीप भट्टराई हुन् ।

चलचित्रमा निर्माता बनियाँको पनि प्रमुख भूमिका छ । चलचित्रमा रविन्द्र, विपिन र दयाका अलावा रविन्द्र झा, बर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ । निर्देशकले पहिलो भागको अन्त्यबाट चलचित्र सुरु भए पनि ‘जात्रै जात्रा’ फरक कथामा बन्न लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu