‘छक्का पञ्जा ३’ सफलतापूर्वक ५१ औं दिनमा, कमायो कति ?



दशैंको घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले १३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको छ । उपत्यकामा चलचित्रले मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल, बिग मुभिज, एफक्युब, बिजी मल तथा सिंगल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स, गुण सिनेमा, गंगा सिनेमा, गोपीकृष्ण मुभिज र बाराही मुभिजमा ५१ औं दिन मनाएको निर्माता तथा कलाकार दीपकराज गिरीले बताए ।

यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा, क्युएफएक्सको जलमा नारायणगढ र बागेश्वरी नेपालगञ्ज तथा विन्दवासिनी सिनेमा पोखरामा पनि चलचित्रले ५१ औं दिन पार गरेको छ । निर्माण टिम ५१ औं दिनको सेलिब्रेसन आइतबार एक कार्यक्रमका बीच गर्ने तयारीमा छ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यसको अघिल्ला दुई सिरिज पनि उनले नै निर्देशन गरेकी थिइन् ।

चलचित्रले ५१ औं मनाउँदै गर्दा वितरकबाट कलेक्सन रिपोर्ट प्राप्त भएको छ । राजधानी वितरक मनोज राठीले ‘छक्का पञ्जा ३’ ले ८ करोड ग्रस कलेक्सन गरेको जानकारी दिए । उनका अनुसार, यसबाट निर्मातालाई करीब ४ करोड शेयर हातमा पर्नेछ । यस्तै, मोफसल वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले चलचित्रले ९ करोड ग्रस कमाइ गरेको बताए ।

वितरकबाट प्राप्त रिपोर्टलाई टेक्ने हो भने उपत्यका र मोफसलबाट चलचित्रले हालसम्म १७ करोड ग्रस कलेक्सन गरिसकेको छ । यो सिरिजको पहिलो भागको लाइफटाइम कलेक्सन १५ करोड नेट थियो । अब ‘छक्का पञ्जा ३’ नेपाली चलचित्र इतिहासमा नै सर्वाधिक कलेक्सन गर्ने चलचित्र बनेको छ । चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाहलगायतको प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu