यस्तो देखियो ‘छक्का पञ्जा ३’ को सफलताको पार्टी (फोटोफिचर)



यस वर्षको दशैंको घटस्थापनामा प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले १३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको छ । यो खुसीमा टिमले सफलताको पार्टी आयोजना गरेको छ । कार्यक्रममा टिमले कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

कार्यक्रममा उपस्थित मदनकृष्ण श्रेष्ठ, नीर शाह, भुवन केसी, छविराज ओझा, करिश्मा मानन्धर, विनोद मानन्धर, सन्दिप क्षेत्री, सिताराम कट्टेल, कुञ्जना घिमिरेलगायत दर्जनौ चलचित्रकर्मीले निर्माण टिमलाई ५१ औं दिने सफलताका लागि बधाई दिएका थिए । अधिकांशले चलचित्रले हासिल गरेको सफलता नेपाली चलचित्र क्षेत्रका लागि ठूलो उपलब्धि रहेको बताएका छन् ।


कार्यक्रममा बोल्दै फिल्मका कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ को सफलता आफ्नो टिमको मात्र नभएको बताए । खुसी व्यक्त गर्दै उनले भने, ‘‘छक्का पञ्जा ३’ ले ५१ औं दिन मनाइरहेको छैन । यो नेपाली चलचित्र क्षेत्रको ५१ औं दिन हो । यो सफलताको खुसी नेपाली चलचित्र क्षेत्रलाई समर्पित गर्न चाहन्छु ।’’


हलिउड र बलिउड जस्ता ठूला मार्केटका फिल्मसँग प्रतिस्पर्धा गरेर पनि नेपाली चलचित्रले सफलता प्राप्त गर्नु ठूलो ‘अचिभमेन्ट’ रहेको उनले बताए । उनी भन्छन्, ‘हलिउड/बलिउडका महंगा चलचित्रहरु र हाम्रा १/२ करोडका फिल्महरु एउटै पर्दामा लाग्छ, एकैदिन लाग्छ र एउटै रुपैयाँले हेर्न पाइन्छ । हामी यस्तो प्रतिस्पर्धा गरिरहेका छौं ।’


प्रतिस्पर्धाको बीच पनि हलिउड र बलिउड चलचित्रले नेपालमा गरेको व्यापारभन्दा उत्कृष्ट व्यापार ‘छक्का पञ्जा ३’ ले गर्नु समग्र चलचित्र क्षेत्रको सफलता रहेको उनी बताउँछन् । ‘हामीसँग सीमित साधन स्रोत छ । यसकारण नेपाली चलचित्रले प्रविधिसँग सक्दैन । तर, कथा, प्रस्तुती र मौलिकतामा अब हलिउड र बलिउड चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्छौं’, उनले भने ।


यस्तै निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ ले ५१ औं दिन मनाउनु ठूलो सफलता रहेको बताइन् । उनी पनि चलचित्रले हासिल गरेको सफलता टिमको मात्र नभइ नेपाली चलचित्र क्षेत्रकै रहेको बताउँछिन् । चलचित्रको सफलताको जस उनी दर्शक र मिडियालाई दिन चाहन्छिन् । केदार घिमिरे र जितु नेपालले चलचित्रको सफलता हरेक नेपालीको रहेको बताए ।


चलचित्रको ५१ औं दिने सक्सेस पार्टीमा बर्षा राउत, निशान भट्टराई, निर्मल शर्मा, बसुन्धरा भुषाललगायत पनि पुगेका थिए । कार्यक्रममा चलचित्रकी लिड अभिनेत्री दीपिका प्रसाईं भने देखिइनन् । यस चलचित्रले प्रदर्शनको ५१ औ दिनमा देशभरबाट १७ करोड ग्रस विजनेश गरेको वितरकबाट जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu