गीतकार शाही भन्छन्, ‘‘लै लै’ गीत मेरो जीवनसँग मेल खान्छ’’



शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’मा समावेश गीत ‘लै लै लै लै…कठै बरी लै’ ले अहिले निकै चर्चा बटुलेको छ । युट्युबमा यस गीतको लिरिकल भिडियोमाथि ६० लाख बढीकोे नजर परिसकेको छ । यही गीतका कारण फिल्मको हाइप पनि निकै चुलिएको छ । गीतकै कारण फिल्मको इनिसियल बक्सअफिस सुखद हुने विश्वास निर्माण टिमलाई छ ।

उक्त गीत केतन क्षेत्रीले गाएका हुन् । संगीत सुवास भुषालको छ । गीतकार गणेश शाही हुन् । गीतकार शाही फिल्मका सह-निर्देशक समेत हुन् । उनलाई निर्देशक दिनेश राउतले फिल्मको स्क्रिप्ट अनुसार एक गीत तयार पार्न आग्रह गरेका थिए । यसअघि पनि धेरै गीत लेखिसकेका कारण उनले आँट कसे र कलम चलाउन सुरु गरे । गीत लेख्न थालेपछि १४ वटा ड्राफ्ट च्यातेर फ्याले ।

तर, उनले आफैंलाई चित्त बुझाउने गीत तयार गर्न सकेनन् । स्कुटरमा हुइकिँदै गर्दा उनको दिमागमा गीतको पहिलो स्थायी जन्मियो ‘लै लै…कठै बरी लै ।’ उनले सिधै निर्देशक राउतलाई भेटेर सुनाइहाले । उनले मन परेको प्रतिक्रिया जनाएपछि उनी हौसिए । किनकि, यसअघि केही गीत सुनाउँदा निर्देशक राउतले मनपराएका थिएनन् ।

‘निर्देशक राउत राम्रो निर्देशक मात्र होइन गीतकार पनि हो । उहाँले धेरै राम्रा गीत लेखिसक्नु भएको छ । उहाँलाई गीतमा संगीत भर्न नआउला तर गीतको मर्म उहाँले राम्रोसँग बुझ्नु हुन्छ । यसकारण पनि मलाई उहाँले पटक-पटक प्रयास गर भन्नुहुन्थ्यो । उहाँकै कारण गीतमा मैले मिहिनेत गरें’, गीतकार शाहीले भने । उनी गीतको दोस्रो हरफ पनि स्कुटर चलाउँदै गर्दा दिमागमा जन्मिएको सम्झन्छन् ।

उनी भन्छन्, ‘स्कुटरमा हिँड्दा म बढी सोच्ने गर्छु । यो गीतको शब्द फुर्नुमा मेरो लागि स्कुटरसँगको यात्रा निकै महत्वपूर्ण छ ।’ उनी गीतले एक बैबाहिक जीवनमा बाँधिएको जोडीको प्रेम बोल्ने बताउँछन् । गीतलाई वास्तविक जीवनसँग जोड्दै उनी थप्छन्, ‘चाहे झुट होस् वा सत्य । बैबाहिक जीवनमा बाँधिएका हरेकले भन्ने कुरा गीतले बोल्छ ।’ उनी आफूले लेखेको गीत आफ्नो जीवनमा पनि मेल खाने सुनाउँछन् ।

गीतकार शाही भन्छन्, ‘गीत तयार भएपछि मैले महशुस गरें कि यो त मेरै जीवनसँग मिल्दो रहेछ । गीतको भावझैं म पनि श्रीमतीलाई निकै माया गर्छु ।’ उनी गीतले संसारमा प्रेमभन्दा ठूलो कुरा केही नहुने भाव बोकेको प्रस्ट्याउँछन् । मदनले मुनालाई गर्ने माया र मुनाले गरेको त्याग जस्तै एक बैबाहिक जीवनमा बाँधिएको जोडीको प्रेम गीतमार्फत भनिएको उनको भनाई छ ।

गीतको अन्तिम हरफ रेकडिङ हुनुभन्दा २ घण्टा अगाडि लेखेको सम्झन्छन् उनी । शाही भन्छन्, ‘उता गीतको रेकडिङको तयारी हुँदैथियो यता म गीतको अन्तिम हरफ सोच्दै थिएँ । त्यसै बेला जन्मियो ‘आकाश मुनी ओत लागौंला…एकै गाँसले भोक टारौंला, आफ्नै संसार बेश नी लै लै’ ।’ उनी शब्द राम्रो भएर मात्र गीत राम्रो नहुने तर्क राख्छन् । भन्छन्, ‘गायन र संगीतको भूमिका पनि उतिक्कै महत्वपूर्ण हुन्छ ।’

गीतकार शाही आफूले लेखेको शब्दको यति प्रशंसा हुन्छ भनेर कल्पनै गरेको पनि बताउँछन् । ‘मलाई त कसरी राम्रो गीत लेख्ने भन्ने मात्र थियो । यसरी सबैले रुचाउँछन् भन्ने त सोचेकै थिइनँ’ , उनले भने । गीतकै कारण हल पुग्ने दर्शकलाई चलचित्रले पनि निराश नबनाउने दाबी उनको छ । भविष्यमा चलचित्र निर्देशकको रुपमा आउने तयारीमा रहेका उनी अब गीत लेखनलाई पनि साथ लैजाने सोचमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu