प्रिमियरमा ‘प्रसाद’ को प्रशंसा (फोटोसहित)



शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ ले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । बुधवार राजधानीको बिग मुभिजमा आयोजना गरिएको रेड कार्पेट प्रिमियरमा चलचित्रकर्मीहरुले चलचित्रको प्रशंसा गरेका छन् । उपस्थित अधिकांशले कलाकारको अभिनय र कथावस्तुलाई चलचित्रको सशक्त पाटो भनेका छन् ।

दिनेश राउतको निर्देशन, सुशील पौडेलको कथा, सुवाष थापाको निर्माण रहेको चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको लिड रोल छ । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्र ‘प्रसाद’ ले बोल्छ ।

प्रिमियरमा उपस्थित भुवन केसी, रेनाशा वान्तवा राई, हेमराज विसी, केशव भट्टराई, दीपेन्द्र के. खनाल, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेलगायतले चलचित्रले उठाएको विषयवस्तुको तारिफ गर्दै कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे । नम्रता र विपिनको अभिनयले चलचित्रमा प्राण भरेको अधिकांशको भनाई थियो ।

चलचित्र हेरेर निस्कँदै गर्दा अभिनेता केसीले कलाकारको अभिनयको प्रशंसा गर्दै तीन करोड नेपालीको मन जित्ने विश्वास व्यक्त गरे । ‘अचेल एक्सन, कमेडी जनरामा चलचित्रहरु बनिरहेका छन् । कमेडी फिल्मले जसरी दर्शकको मन जितेका छन् त्यसरी नै सोसल म्यासेज र इमोसनल मुभीमा ‘प्रसाद’ ले मन जित्छ’, उनले भने । दीपकराज गिरीले संवेदनशिल विषय मनपराउने दर्शकका लागि यो चलचित्र मनपर्ने बताए ।

चलचित्रको प्रिमियरमा अभिनेत्री नम्रता श्रेष्ठ आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् । चिसिँदो काठमाडौंको जाडोलाई चुनौती दिँदै उनी निकै हट पहिरनमा उपस्थित भएकी थिइन् । प्रेमी दावा शेर्पासँग उनी प्रिमियरमा पुगेकी थिइन् । अभिनेता विपिन खट्टा फ्याक्चर भएर बेड रेस्टमा रहेका कारण उपस्थित हुन सकेनन् । निश्चलको भने उपस्थिति थियो । चलचित्र हेर्न नेपाल आइडलका ‘टप फाइभ’ प्रतिस्पर्धी पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu