दशैंको फूलपातीमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ ले प्रदर्शनको ५१ औं दिन सफलतापूर्वक पार गरेको छ । गएको हप्ता चलचित्र ‘छक्का पञ्जा ३’ ले पनि यो सफलता हात पारेको थियो । निर्देशक तथा निर्माता अशोक शर्माले चलचित्रको सफलताको खुसी आश्रममा सहयोग गरेर साटेका छन् ।
शुक्रवार दिउँसो सामाखुसीमा रहेको मावन सेवा आश्रममा निर्माण टिमले न्यानो कपडा बाँड्दै ५१ औं दिने सफलताको खुसी साटासाट गरेको छ । आश्रममा आश्रित मानसिक सन्तुलन गुमाएका ५० जना वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गर्दै एक छाक खाना पनि निर्माता शर्माले खुवाए ।

कलाकारहरु खगेन्द्र लामिछाने, सौगात मल्ल, जयनन्द लामा, शारदा गिरी, छायाँकार पुरुषोत्तम प्रधान, नृत्य निर्देशक बसन्त श्रेष्ठ उपस्थित कार्यक्रममा निर्देशक शर्माले आफूले १७ वर्ष अगाडि चलचित्र ‘अल्लारे’ ले ५१ औं दिन मनाउँदा पनि वृद्धवृद्धालाई सहयोग गरेको सम्झिए । उनी वृद्धवृद्धालाई सहयोग गर्दा मिल्ने खुसी अरु काममा नमिल्ने बताउँछन् ।

चलचित्र ‘जय भोले’ ले ४ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो । निर्देशक शर्माले १२ वर्षपछि निर्देशनमा कमब्याक गरेको चलचित्रले एकाउन्न दिन मनाउँदा निकै उत्साहित रहेको बताए । उनी खुसी मुद्रामा भन्छन्, ‘अब निर्देशनबाट टाढा रहँदिनँ ।’ उनले अर्को वर्षको दशैंमा प्रदर्शनमा ल्याउने गरि चलचित्र ‘रातो टिका निधारमा’ घोषणा गरिसकेका छन् ।






