अनमोल र उपासना स्टारर ‘क्याप्टेन’ गीत ‘रहर छ सँगै…’ रिलिज (भिडियो)



फागुन १७ गते रिलिज हुने निर्देशक दीवाकर भट्टराई निर्देशित चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘रहर छ सँगै…’ बोलको रोमान्टिक गीत बिहीवार निर्माण टिमले राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । गीतको भिडियोमा अभिनेता अनमोल केसी र डेब्यु गर्ल उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतले दुईको प्रेमभाव बोल्छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द छ भने गायिका अञ्जु पन्त र गायक सुगम पोखरेलले आवाज भरेका छन् । अनमोल र उपासनालाई करियोग्राफर कविराज गहतराजले नचाएका छन् । मुस्ताङमा खिचिएको गीतमा रोमान्टिक अनमोलको अंगालोमा उपासना बोल्ड देखिएकी छन् । दुईको केमेस्ट्री गजबको देखिएको छ । गीतको मेकिङ रिच छ ।


अनमोल-उपासनाको जोडी र मुस्ताङको सुन्दर लोकेसनलाई सुदिप बरालले आकर्षक र कलात्मक ढंगबाट क्यामरामा कैद गरेका छन् । सार्वजनिक गीतले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाएको छ । फुटबलमा भविष्य देखेर संघर्ष गरेको एक युवकको कथा भन्ने चलचित्रमा प्रियंका एमभी पनि लिड रोलमा छिन् । उनको पनि यो डेब्यु चलचित्र हो ।

फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रका निर्माता भुवन केसी हुन् । गीत सार्वजनिक कार्यक्रममा अभिनेता अनमोलले कहिल्यै फटुबल नखेलेको भए पनि चलचित्रमा आफ्नो भूमिकालाई न्यायपूर्वक निभाउन ३ महिना ट्रेनिङ लिएको बताए ।

‘क्याप्टेन’ को लेखक निर्देशक दीवाकर स्वयं हुन् । कथा सामिप्यराज तिमल्सिनाको हो । उक्त चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । निर्देशक भट्टराईले स्पोर्टस् जनरामा चलचित्र बनाउन निकै गाह्रो रहेको बताए ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu