‘रणवीर’ को पहिलो गीत ‘तिरिमिरी’ सार्वजनिक (भिडियो)



माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रणवीर’ को पहिलो गीत सार्वजनिक भएको छ । शनिबार राजधानीमा निर्माण टिमले एक कार्यक्रम आयोजना गर्दै राजनराज सिवाकोटीको संगीतमा रहेको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीत सार्वजनिक गरेको हो ।

गीतमा राजनराजलाई गायनमा गायिका अञ्जु पन्तले साथ दिएकी छन् । शब्द पनि गायक सिवाकोटी स्वयंको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका लिड कलाकार शुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट फिचर्ड छन् । करीब २५ लाख खर्चिएर गीत खिचिएको निर्माताको भनाइ छ ।


गीतको भिडियो बाबु श्रेष्ठले खिचेका हुन् । निर्माता द्वय गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले सार्वजनिक गीतले चलचित्रको हाइप निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । यो चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।

चलचित्रमा प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । करीब दुई करोडको लगानीमा चलचित्र निर्माण भएको बताइएको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता सुशीलले चलचित्रका लागि शरीर बनाउन निकै मिहिनेत गरेको बताए । उनी भन्छन्, ‘चलचित्रको लागि मैले कति मिहिनेत गरें शब्दमा व्यक्त गर्न सक्दिनँ । चलचित्रकै लागि भनेर ७० केजीबाट मैले १५ किलो तौल बढाएर ८५ केजी तुल्याएको थिएँ ।’

अभिनेत्री द्वय शुभेच्छा र सुपुष्पाको यो डेब्यु चलचित्र हो । दुवै ‘रणवीर’ लाई लिएर उत्साहित देखिए । एक्सन ड्रामा चलचित्रले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu