माघ ११ गतेबाट प्रदर्शनमा आउने तरखरमा रहेको नेपाली कथानक चलचित्र ‘अनागत’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘कसलाई पोखुँ…’ बोलको गीतमा चलचित्रका लिड कलाकार प्रियंका कार्की र अर्पण थापा प्रस्तुत छन् ।
गीतमा श्रीमान्-श्रीमतीबीच घर व्यवहारमा उब्जिने मानसिक द्वन्द्वलाई देखाइएको छ । गीतमा प्रियंका स्वयंको स्वर छ । गायनमा प्रियंकालाई सुरजसिंह ठकुरीले साथ दिएका छन् ।

गायक सुरज र साम्तेन भुटियाको शब्द रहेको गीतमा सुरजकै संगीत सुन्न सकिन्छ । केही दिन अगाडि प्रियंका र अर्पणको इन्टिमेट सिन समावेश चलचित्रको टिजर सार्वजनिक भएको थियो ।
साम्तेन भुटिया निर्देशित चलचित्रमा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदी पनि मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा चलचित्र निर्माण भएको हो ।
चलचित्रमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । चलचित्रलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।
भिडियो :-




