चलचित्र ‘घर’ को घोषणा गरिएको छ । यो चलचित्र पूर्णतया हरर कथामा निर्माण हुनेछ । चलचित्रको छायांकन माघमा सुरु गरिने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चलचित्रलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो ।
चलचित्रमा शर्मिला पाण्डेले लगानी गर्दैछिन् । शर्मिलाले ‘लभ लभ लभ र चंगाचेट’मा लगानी गरेकी थिइन् । चलचित्रमा सन्तोष अधिकारीको सह–लगानी रहनेछ । निर्मात्री पाण्डेले डीएस डिजिटलले प्राविधिक उपकरण वितरणको साथमा चलचित्र पनि निर्माण गर्ने बताइन् । बर्षमा एउटा चलचित्र निर्माण गर्ने योजना आफूहरुको रहेको उनले बताइन् ।
यस्तै, यो चलचित्रलाई अर्पण थापाले निर्देशन गर्दैछन् । निर्देशक थापाले भने–‘यो चलचित्रले दर्शकलाई पूर्ण रुपमा तर्साउनेछ ।’ चलचित्रका लागि २ नायिकाको खोजी भैरहेको निर्माणपक्षले बताएको छ । कार्यक्रममा बोल्दै डीएस इन्टरटेन्मेन्टका एक सदस्य दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले पनि लगानी गर्न लागेको बताएका थिए ।
एउटा ‘घर’ भित्र हुने घटनालाई चलचित्रले सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । अर्पण थापाले नै चलचित्रको कथा लेखेका हुन् । कार्यक्रममा निर्माता माधव वाग्लेले चलचित्र सफलताको शुभकामना दिएका थिए । डीएस डिजिटलमा कलाकार सुरज पाण्डे पनि आवद्ध छन् ।